काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिएकी छन् ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ । सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्तविरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्दान्तिक विषयसँग सम्बन्धी दुई वटा उजुरी परेको छ ।
शुक्रबार उजुरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाई गर्ने समितिले जनाएको छ । उजुरीकर्तालाई समितिको बैठकमा आमन्त्रण गरिएको थियो । सबै उजुरीकर्ताहरूलाई शुक्रबारको बैठकमा बोलाएर जानकारी लिने कार्यसूची बनाएको समितिकी सभापति न्यौपानेले बताइन् । त्यस्तै, असार १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूची रहेको छ ।