काठमाडौं : भारत सरकारको मन्त्रिपरिषद् नियुक्ति समितिले वरिष्ठ प्रहरी अधिकृत पराग जैनलाई अनुसन्धान तथा विश्लेषण विङ (रअ) को नयाँ सचिव नियुक्त गरेको छ। उनले पदभार ग्रहण गरेपछि दुई वर्षसम्म यो जिम्मेवारी सम्हाल्नेछन् वा अर्को आदेश नआएसम्म कार्यकाल जारी रहनेछ। पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी जैन हाल एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख हुन्। उनले पाकिस्तानमा भएको ‘अपरेशन सिन्दूर’का क्रममा महत्वपूर्ण गुप्तचर समन्वयको नेतृत्व गरेका थिए। उनी रवि सिन्हाको स्थानमा रअ प्रमुख बन्न लागेका हुन्, जसको कार्यकाल जुन ३० मा समाप्त हुँदैछ। सिन्हालाई कुनै प्रकारको कार्यकाल विस्तार नदिइनु प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको विगतको चलनविपरीत मानिएको छ। पराग जैनलाई एक शान्त, तर तीक्ष्ण सोच भएका रणनीतिक गुप्तचर अधिकारीका रूपमा चिनिन्छ। उनले भारतको आन्तरिक र बाह्य गुप्तचर संस्था, आईबी र रअ दुवैमा लामो समय बिताएका छन्। उनले क्यानडा—जहाँ विश्वभर फैलिएको खालिस्तान आन्दोलनको केन्द्र मानिन्छ—र श्रीलङ्कामा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका छन्। जम्मु-कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णयको समयमा पनि उनी त्यहाँ गुप्तचर भूमिकामा संलग्न थिए। सुरक्षा स्रोतहरूका अनुसार पछिल्ला दुई वर्षमा रअले भोगेका रणनीतिक असफलता—जस्तै बंगलादेशमा शेख हसीना सरकारको पतन र पहलगाम आतंकवादी आक्रमण—पछिको यो नियुक्ति साङ्केतिक रूपमा महत्वपूर्ण छ। जैनको नेतृत्वमा एआरसीले पाकिस्तानका महत्वपूर्ण लक्षित स्थानहरूको पहिचान र विश्लेषणमा सफलता हासिल गरेको थियो। जैनलाई मानव स्रोत र प्रविधिमा आधारित गुप्त जानकारी दुवैमा समन्वय गर्दै निर्णय लिने दक्षताका लागि चिनिन्छ। उनको कश्मीरमा रहेको मैदान स्तरको अनुभव पाकिस्तानद्वारा पुनः बनाइरहेको आतङ्क संरचनालाई निस्तेज पार्न उपयोगी हुने विश्वास गरिन्छ। रअको नेतृत्व सम्हाल्न लागेका पराग जैनको विशेषज्ञता पाकिस्तान र चीनसँग सम्बन्धित रणनीतिक याेजनाहरूमा रहेको छ। उनी एक मौन रणनीतिज्ञका रूपमा परिचित छन्, जसले संगठनभित्रका गुटबन्दी र अन्तरविरोधबीच नयाँ ऊर्जा दिन सक्छन्। सुरक्षा क्षेत्रमा उनको नियुक्तिलाई समयसापेक्ष, रणनीतिक र आवश्यक कदमको रूपमा हेरिएको छ—जसले भारतलाई अन्तर्राष्ट्रिय गुप्तचर प्रणालीमा अझ विश्वसनीय र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।