काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने बताए । एसईईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दै उनले धेरै वर्षपछि एसईईको नतिजामा सुधार देखिनु खुसीको अवसर भएको बताए । ‘४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो’, उनले भने ।
प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गरे । ‘केहीले अड्ढ थपेर पास गराइयो भनेर हचुवाको भरमा विनाआधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ’, उनले भने ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसईई २०८१ को नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ जना परीक्षार्थीमध्ये ६१ दशमलव ८१ प्रतिशत अर्थात् दुई लाख ७१ हजार दुई सय ९९ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये तीन दशमलव छदेखि चार जीपीए अर्थात् विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको संख्या ४८ हजार एक सय ७७ जना रहेका छन् । नतिजाअनुसार तीन दशमलव दुईदेखि तीन दशमलव छ जीपीए ल्याउने ८१ हजार तीन सय ८५ जना, दुई दशमलव आठदेखि तीन दशमलव दुई जीपीए प्राप्त गर्ने ८९ हजार एक सय २४ जना, दुई दशमलव चारदेखि दुई दशमलव आठसम्म ४८ हजार चार दशमलव ७९ जना, दुईदेखि दुई दशमलव चार जीपीए ल्याउने चार हजार एक सय २६ जना र दुई जीपीएभन्दा कम ल्याउने आठ जना परीक्षार्थी रहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए ।
परीक्षामा अनुत्तीर्ण हुने एक लाख ६७ हजार पाँच सय ९७ परीक्षार्थीले पुनः परीक्षा दिनुपर्ने भएको छ । यस्तै, परीक्षामा सहभागीमध्ये एक सय २६ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षामा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबभन्दा बढी एक लाख १९ हजार पाँच सय १७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम ४६ हजार चार सय ५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी, कोशी प्रदेशबाट ४७ हजार आठ सय ३५, मधेश प्रदेशबाट ५९ हजार सात सय ४९, गण्डकी प्रदेशबाट ४७ हजार आठ सय ४९, लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ९७ हजार छ सय ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार आठ सय चार विद्यार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा शर्माले बताए । परीक्षार्थी कोशी प्रदेशमा २३ हजार छ सय ३१ जना, मधेश प्रदेशमा ४२ हजार सात सय ७९ जना, बागमती प्रदेशबाट २० हजार नौ सय ४६, गण्डकी प्रदेशबाट ११ हजार तीन सय २८, लुम्बिनी प्रदेशबाट २८ हजार दुई सय ७४ जना कर्णाली प्रदेशबाट १३ हजार सात सय ६५ जना र सुदूरपश्चिम प्रदेशबाट २६ हजार आठ सय ७६ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
एसईईको नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार दुई सय १८ जना परीक्षार्थी ननग्रेडेड भएका हुन् । यस्तै, अंग्रेजीमा ८० हजार छ सय ७२ जना, नेपालीमा ५४ हजार सात सय ३५ जना, सामाजिकमा ५३ हजार एक सय ८६ जना र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार दुई सय ७१ विद्यार्थीले ननग्रेडेड भएका छन् । बोर्डका अनुसार ऐच्छिक विषयमा पनि धेरै विद्यार्थी एनजीमा परेका छन् ।