काठमाडौं । दुई दिन दुई रात अविछिन्न माइकमा बोल्न सकेर ‘गिनिजबुक’मा नाम लेखाएका अमेरिका रिटर्न चर्चित पत्रकार रवि लामिछाने जब चुनाव आउनु ७ महिनाअघि मात्र स्थपना भएको पार्टी रास्वपालाई ठूलो दलको हैसियतमा चौथो स्थान (राप्रपाभन्दा ठूलो)मा उभ्याएर भागबण्डामा गृहमन्त्री (दैनिक ५० लाख आर्जन)सहित चार मन्त्रीका नेता भए । यसले निर्दलीय व्यवस्थाको अन्त्यका लागि ‘निमित्त नायक’ बनेकी नानीमैया दाहाल स्मृतिमा ताजा हुन आइपुग्यो । त्यस बखत मैले मधुरो स्वरमा रवि लामिछानेको तुलना नानीमैया दाहालसँग गरेर रविको ‘उदय’ संघीय गणतन्त्र तन्त्र ‘अन्त्य’को प्रारम्भ लेखेको बोलेको थिएँ । मेरो मधुरो स्वरको त्यो ननीमैया–रवि लामिछाने तुलना (निमित्त नायक)लाई किशोर नेपाल आदि÷इत्यादि पत्रकारहरूले ठूलो–ठूलो चर्को स्वरमा कराएका देखेको सुनेको पनि हो ।
नानीमैया दाहालको ‘उदय’ र रवि लामिछानेको ‘उदय’ गिनिजबुकमा नाम लेखाएको ‘प्रारब्ध’ समेत मिलेको ठ्याक्कै एउटै प्रकृतिको एउटै परिणतिको छ । यहाँनेर कसरी नानीमैया दाहाल पञ्चायती व्यवस्था अन्त्यका लागि ‘निमित्त नायक‘ बनेकी थिइन् ? अलिकति इतिहास पाठ्यक्रम आवश्यक हुन जान्छ, जुन सर्वत्र उपलब्ध नै छ ।
नानीमैया दाहाल राजा महेन्द्रको देश विकासको आह्वानमा लट्ठिएर राजधानी काँठ क्षेत्र (जोरपाटी/डाँछी)की एक निर्भीक जुझारु निर्दलीय पञ्च कार्यकर्ता थिइन् । उनले बुझेको राजनीति बहुदल निर्दल राम्रो नराम्रो भन्ने केही थिएन । जनताको सेवा गर्नु, जनताको सुखदुःखमा साथ दिनु र त्यसका लागि काम गर्न अहोरात्र तत्पर रहनु उनले बुझेको राजनीति थियो । अहिले गणतन्त्रकालमा कांग्रेस, एमाले, माओवादीका असली सिद्धान्त कर्तव्यनिष्ठ कार्यकर्ताहरूलाई मुठ्ठीभर घुस्याहा, भ्रष्टाचारी, तस्कर, माफिया, विदेशी दलालका भरियाहरूले पार्टी क्याप्चर गरेर बस्न खान नदिएका जस्तै त्यतिखेरका मण्डलेहरूले दुःख दिँदा, लखेट्दा नानीमैया दाहाल कडा मिजासकी थिइन् । मण्डलेहरूले लखेट्दा, बस्नखान नदिएर दुःख दिन थाल्दा सारी उचालेर प्रत्यक्ष महादेवीको उग्ररुप लिएर सबलाई भागाभाग पार्थिन् । उनका बारेमा यस्ता समाचार राजाका कानसम्म पुग्दा मुस्कुराइबक्सने गरेको पाठ्यक्रम पनि उपलब्ध छ ।
कालक्रममा जनमतसंग्रहले गर्दा एकप्रकारले निर्दलीयता गइसकेको थियो । जनमतसंग्रहपछि ‘मरेको बाघको के जुँगा उखेल्नु ?’ बीपी भन्ने गर्नुहुन्थ्यो । बीपीलाई धोका दिएर ‘पञ्चायतका आमा’ कहलिएका तुलसी गिरी जनमतसंग्रहपछि ‘अब पञ्चायत व्यवस्था गयो’ भन्दै क्रिस्चियन धर्म भाकेर विदेश (श्रीलंका/पाकिस्तान) भासिएका २६ वर्षपछि मर्ने बेलामा नेपाल फर्किएका थिए । या भनौँ राजा ज्ञानेन्द्रले नेपालमा मर्ने अवसर जुराइदिए । यसरी पञ्चायत (व्यवस्था) माथिको यो संकटबाट नानीमैया दाहालजस्ता कार्यकर्तामा चिन्ता, आक्रोश र विद्रोह आउनु स्वाभाविक थियो । जस्तो अहिले कांग्रेस, एमाले, माओवादीका सच्चा देशभक्त कार्यकर्ताहरूमा नेतृत्वपंक्ति डुङडुङ्ती गनाएर जुन पिरलो र आमजनसमक्ष (मतदाता) मुख देखाएर हिँड्न लाजमर्दो भएको छ, त्यसबखत नानीमैया दाहाललाई भयो । अहिले ओली, देउवा, प्रचण्ड आदि/इत्यादि नेतृत्व भएजस्तै त्यसबखत सूर्यबहादुर थापा, जोगमेहर श्रेष्ठ (१६वर्ष लगातार गृहमन्त्री) पशुपति शमशेर जबरा आदि÷इत्यादि थिए । यी तीनै नेतालाई नानीमैया दाहालले सारी उचालेर महादेवी दर्शन गराएकी भन्ने पनि कतैकतै जनबोली भेटिन्थ्यो ।
विसं २०३८ सालको सुधारिएको भनिएको पञ्चायतको निर्वाचन ‘एउटै घोषणा पत्र’ र चुनाव चिह्नमा भाग लिन दिए चुनावमा सहभागी हुने बीपीको मेलमिलाप प्रस्तावलाई भारत ( रअ)को इसारामा सूर्यबहादुर थापाले षड्यन्त्र गरेर सक्रिय बहिष्कारमा जान बाध्य तुल्याएपछि नानीमैया दाहालले काठमाडौं चुनाव क्षेत्र (अहिलेका ९÷१० चुनाव क्षेत्र त्यसवखत एउटै हुन्थ्यो)बाट स्वतन्त्र रुपमा विद्रोही उम्मेदवारी दिइन् । दरबारको शरदचन्द्र शाह गुटलगायत सूर्यबहादुर थापा, जोगमेहर श्रेष्ठ, नवराज सुवेदी आदि÷इत्यादिका उम्मेदवारविरुद्ध एक अवला नारीको हैसियतमा पुर्याएकी नानीमैया दाहालले जमानत जोगाउने पनि कोइ अनुमान लगाउन सक्दैन थिए । पंक्तिकार प्रत्यक्ष साक्षी भएका नाताले दशी प्रमाणसहित यो पाठ्यक्रम ल्याइरहेको छु । त्यसवखत बीपीको बास चावेल जयवागेश्वरीस्थित तारिणी प्रसाद कोइराला (बीपीका भाइ)को घरमा थियो । हामी पार्टीको होलटाइमर नेता कार्यकर्ताहरू हुल बाँधेल बीपीलाई भेट्न पुग्दथ्यौँ । त्यसबखत उहाँको एउटै कथन हुने गर्दथ्यो– ‘नानीमैयाले चुनाव जितिन् भने बुझ्नु बहुदल टाढा छैन ।’ गणेशमान, भट्टराई, टंकप्रसाद आचार्य, डिल्लीरमण, मनमोहनलगायत कांग्रेस–कम्युनिस्टका शीर्ष नेताहरू कोही पनि नानीमैयाले जनमत जोगाउने विश्वास गर्न सक्दैन थिए । तर बीपी भन्नुहुन्थ्यो, ‘राजधानीका जनता जागरुक र राष्ट्रवादी छन् । नानीमैयाले चुनाव जित्न सक्छिन् ।’
नभन्दै नानीमैयाले चुनाव जितिन् । सार्क मुलुकहरूका राजनीतिक मुखपत्रसरह मान्यता प्राप्त भारतबाट प्रकाशित ‘दिनमान साप्ताहिक’ले आफ्नो कभर पृष्ठमा नेपालको नक्सा राखेर त्यसमा उदाइरहेको सूर्यको अनुहारचाहिँ नानीमैया दाहालको बनाएको थियो । नेपालजस्ता मुलुकहरूका चालू चुनावी अभ्यासमा त्यसखालको परिणाम पहिलो पटक भनेर गिनिजबुकले नाम रेकर्ड राखेको छ । राजनीतिक हिसाबले नानीमैया दाहालको गिनिजबुकमा नाम रेकर्ड रवि लामिछानेको रेकर्डभन्दा धेरै उचाइको माथिल्लो स्तरको स्वतः सिद्ध छ । रवि लामिछानेले माइक बजाएका थिए । नानीमैयाले त एउटा प्रणालीलाई नै हावा खुस्काइदिएकी थिइन् । रविको भाषामा ‘घण्टी बजाइदिएकी’ थिइन् ।
बहुदल आएपछि नानीमैया दाहाल कहाँ हराइन् ? कसैलाई थाहा नभएजस्तै यो संघीय गणतन्त्र गएपछि रवि लामिछाने पनि कहाँ हराउनेछन्, कसैलाई थाहा हुनेछैन भन्ने नै मेरो अनुभवजन्य अध्ययन ठहर हो । यही ठहरमै छु पनि । पछिल्लो चरणमा लामिछानेले जेल (देउवाको प्रधानमन्त्री पद अफरको इन्कारले निम्त्याएको प्रतिशोध) जारी अपिल (पुस्तिका)मा ‘संघीयता धान्न नसकिने खारेज अपरिहार्य’ लाइन अघि सारेकाबाट ‘निमित्त नायक’को भूमिकाबाट ‘नियति नायक’तर्फ पाइला चाल्न थालेका ठान्न सकिन्छ । तर उनका संसद् धाइरहेका सांसदहरूले ‘८४को थेगो’ भट्याउन नछाडेकाबाट उनको लाइन अनुशरण भएको ठान्न मिल्दैन ।
रवि लामिछाने उदयको पृष्ठभूमि कहालीलाग्दो हृदयविदारक छ । विसं २०४५ सालसम्म धान चामल निर्यात कम्पनीका सरकारी साइनबोर्डहरू छ्यापछुयाप्ती भेटिन्थ्ये । भृकुटी कागज कारखानाबाट उत्पादित कागजबाट जापानले आफ्नो नोट (रुपैयाँ) छाप्दथ्यो । अहिलेको तथ्यांक ८३ प्रतिशत सम्पूर्ण उपभोग्य वस्तु आयातमा निर्भर रहनुपरेको छ र बहुदल–गणतन्त्र आएयता विगत ३६ वर्षको अवधिमा हामीले मान्छे निर्यात (बेच्ने) बाहेक केही गर्न सकेनौँ भनेर पाँच पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिकरुपमै खुलासा गरिसकेका छन् । देउवाको यो खुलासा झाँक्रीले बोक्सी बकाएजस्तै हो । राजा महेन्द्र र वीरेन्द्रकालमा खडा भएका नाफामा चलेका सारा उद्योगधन्धाहरू हामीले बेचेका भनेर कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक दम्भ प्रदर्शन गरिसकेका छन् । महामन्त्रीद्वयको यो दम्भ पनि झाँक्रीले बोक्सी बकाएजस्तै हो । परिणति तीन करोड जनसंख्याको झण्डै एक करोड (सरकारी आँकडामा ८० लाख) बलिया पाखुरी जनसंख्या विदेशमा कामदारका रुपमा बेचिन (नक्कली भुटानीदेखि भिजिट भिसासम्म) विवश तुल्याइएको छ ।
मुलुकको ६४ प्रतिशत उब्जाउ भूमि बाँझै छन् । आठ लाख घरहरू खण्डहरमा रुपान्तरण भएका स्थलगत रिपोर्ट हो । मुलुकमा रहेका लगभग दुई करोड जनसंख्यामा सेना, पुलिस, कर्मचारी, न्यायाधीश, प्राध्यापक, वकिल, शिक्षक, उद्योगपति, व्यापारी, जमिन्दार आदि/इत्यादिलगायत राजनीतिक दलहरूका क्रियाशील सदस्यहरू त सत्ताधारी र सत्तापोषित जनसंख्या (६०/७० लाख) पर्छन् । बाँकी रहेका झण्डै डेढ करोड जनसंख्यामा वृद्ध, बालक, अशक्त, विधवा, अवला ठूलो संख्याका नारी जाति र एक हदसम्म १२ कक्षासम्म पढ्दै गरेका विद्यार्थी वर्ग । भोट दिएर लुटतन्त्र डाकातन्त्र झेल्ने शासित जनसंख्या यही । यो जनसंख्याबाट शासक वर्गको लुटतन्त्र डाकातन्त्रको प्रतिकार सम्भव थिएन । जनताको प्रतिकार क्षमता उठ्न नदिने परचक्री डिजाइनअन्तर्गत नै बलिया पाखुरी जनसंख्या निर्यात (बेच्ने) गर्ने धन्धा फस्टाएको छर्लङ्ग छ । दिवंगत पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार रहेर विज्ञ कहलिएका पुरन्जन आचार्य टीभीको पर्दामा भन्दै थिए ‘पश्चिमाहरूको एउटा रिसर्चले फाइन आउट गरेको यतिखेर नेपालको राज्यसत्तालाई ११ हजार गुण्डाहरूले हाँकिरहेका छन् । पुरन्जनको यो खुलासा कहाँ आइपुगेर सत्य हुन्छ भने मुलुकमा दर्ता भएका ७५ हजार सहकारीले ७५ लाख जनता (प्रतिकार क्षमता शून्य)का झण्डै चार खर्ब पेट काटेर बचत गरेका पैसा लुटेर नेता, सांसद, मन्त्री भएका आदि/इत्यादिहरू नै हुन् भन्ने अब त हरेक नेपालीका हातहातका मोबाइलसम्म दशी प्रमाण छर्लङ्ग भइसकेको छ । यसैको परिणाम यतिखेर लोकतन्त्र गणतन्त्रका सम्पूर्ण आदर्श मूल्य धराशायी भएर कांग्रेस, एमाले, माओवादी अन्त्येष्टिको निशानामा पुगेका हुन् । ११ हजार गुण्डाहरूले मुलुकलाई २७ खर्ब ऋणमा डुबाएर अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पको रिसर्च ठहरमा नेपाल मानव तस्करी र अन्तर्राष्ट्रिय आतङ्कवादको सेल्टर स्थल हुन पुगेको छ । धेरे पहिले ‘ग्रे–लिस्ट’मा परेको अब ‘बल्याक लिस्ट’को तयारी भइरहेको छ ।
‘निमित्त नायक’का रुपमा रवि लामिछाने उदयको पृष्ठभूमि यही हो । प्रतिशोधपूर्ण जेल बसाइले उनलाई ‘नियति नायक’का रुपमा चिनारी दिने सम्भावना छ । ‘नियति’ जहिले पनि उज्यालो हुन्छ । ‘नियत’ मात्र अन्धकार निम्त्याउने हो ।
अन्त्यमा पृथ्वीपथका अभियन्त राजा ज्ञानेन्द्र, दुर्गा प्रसाई, जगमान गुरुङ, स्वागत नेपाल, भरत दाहाल, केशरबहादुर विष्ट आदि/इत्यादि जति पनि हुनहुन्छ उहाँहरूलाई आम जनभावना र आकाक्षाको एउटै प्रश्न छ– ‘तपाईहरू ०४७ को संविधान भनिरहनुभएको छ । ०४७ को संविधानमा टेकेर पृथ्वीपथमा हिँड्दा फेरि अर्को गिरिजा र प्रचण्ड जन्मदैनन् भन्ने ग्यारेन्टी खोइ ? र आजको राष्ट्रिय राजनीति त्यसको पृष्ठभूमिमा ०८४ को चुनाव फलाक्ने जतिपनि राजनीतिक दलहरू, तिनका नेताहरू, राजनीतिक विश्लेषक प्राडाहरू, नागरिक समाजका अगुवा र पत्रकार वर्ग छन्, तिनीहरू या त इतिहास चेतविहीन भ्रमितहरू हुन् या ठग, बेइमान, अपराधी हुन् ।