काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि. यही असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन् । यसअघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्नसक्ने एक कुशल नेतृत्व हुन् ।
नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको चुक्ता पुँजी २० करोड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदातालगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।