काठमाडौं । पछिल्लो समय वाइल्डलाइफ टुरिजममा हाइ–एन्ड पर्यटकलाई आकर्षित गर्न सफल चितवनको मेघौलीमा नेपाली हस्पिटालिटी चेनको अग्रणी सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।
यसअघि साराङ वाइल्डलाइफ स्याङचुरीका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थ ग्रुपले ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’का नाममा सञ्चालन गरेको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए । ‘वाइल्डलाइफ टुरिजमका लागि देशकै उत्कृष्ट गन्तव्य मेघौलीमा प्रकृतिमा रमाउँदै जलचर, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न चाहनेका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो’, न्यौपानेले भने, ‘यति सुन्दर गन्तव्य मेघौलीमा पर्यटकलाई उच्चस्तरीय वाइल्डलाइफ रिसोर्टको सेवा दिने उद्देश्यले सिद्धार्थ ग्रुप मेघौली आएको हो ।’
चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्रे सडकको सुविधा छ । सीईओ न्यौपानेका अनुसार सिद्धार्थ वाइल्डलाइफ रिट्रिट १२ बिघै क्षेत्रको जंगलमा छ । रिसोर्टभित्रै छुट्टै आनन्दको संसारजस्तो महसुस हुने सुन्दर बगैँचासहित रिसोर्ट परिसरकै जंगलमा विभिन्न चराचुरुङ्गी र जनावरको अवलोकन गर्न सकिन्छ । पाहुनाले रिसोर्टमा रहेका हात्तीलाई घाँस, दाना खुवाउने, हात्तीसँगै बगैँचा घुम्ने, हात्ती बाथ, हात्ती वाक, हात्तीलाई खुवाउँदै आफू पनि ब्रेकफास्ट गर्नेजस्ता रोमाञ्चक सुविधा लिन सक्छन् ।
रिसोर्टमा स्थानीय रहनसहनअनुसार थारू शैलीका १७ भिल्ला बनाइएको छ, जसका २४ कोठामा ४८ जना पर्यटकले रात बिताउन सक्छन् । सबै भिल्लाहरू डिलक्स भएको बताउँदै सीईओ न्यौपानेले जड्गल रिसोर्टमा हुनुपर्ने न्यूनतमदेखि अधिकतम सेवा–सुविधा उपलब्ध गराएको जानकारी दिए । थारु र कुमाल समुदायको बाहुल्य रहेको मेघौलीमा रापती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मनमोहक दृश्यावलोकन समेत गर्न सकिन्छ । पर्यटकहरू पूरा दिन वा आधा दिनको बुकिङ गरेर जँगल सफारीमा जान सक्छन् ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारेस्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्राण्डलगायत सञ्चालनमा छन् ।