काठमाडौं । विशेष अदालतले टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आइतबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत र पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध गत जेठ १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि बस्नेतको सांसद पद निलम्बनमा परेको थियो ।
अख्तियारले आरोपितहरूबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ असुल गर्नुपर्ने बिगो दाबीसहित मुद्दा दायर गरेको थियो । बस्नेत आइतबार बयानका लागि अदालतमा उपस्थित भएका थिए । उनको बयान र थुनछेकपछि अदालतले थप प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने भन्दै मुद्दा पुर्पक्षको लागि पच्चिस लाख रुपैयाँ धरौटी राखेमा छाड्न आदेश दिएको हो । अख्तियारले बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा बमोजिम थप सजाय समेत गरीपाउँ भन्ने मागदाबी लिएको थियो ।