काठमाडौं । कमलादीमा रहेको स्काइवाक काठमाडौं तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको एरियल भ्यू हेर्नका लागि प्रसिद्ध छ ।
वार्षिकोत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप निःशुल्क उपहार दिइने स्काइवाक काठमाडौंका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा यो लागू हुनेछ । तेस्रो वर्ष प्रवेशको अवसरमा ल्याइएको यो अफर तीन महिनासम्म चल्ने पाण्डेले बताए । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव पाँच मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौं आउनेका लागि प्रमुख गन्तव्य बनेको छ ।
टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । स्काइवाकमा प्रतिवर्गमिटर पाँच सय किलो भार बहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरू राखिएको छ । टावरको माथि पुग्नका लागि दुई वटा लिफ्ट बनाइएको छ भने एकैपटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै, स्काइवाकको माथिल्लो भागमा एकैपटक पाँच सय जनासम्म अट्नसक्ने कम्पनीको भनाइ छ ।
यहाँबाट ऐतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, सहिदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । कम्पनीले ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निःशुल्क सेवा प्रदान गर्ने गरेको जनाएको छ ।