काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मंगलबार एक समारोहका बीच तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण नागार्जुन रिसोर्टको उद्घाटन गरेका छन् ।
मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने भन्दै उनले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
पर्यटनका लागि हाम्रो देश स्वर्ण भूमि हो भन्दै स्वामी आनन्द अरुणले विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएको बताए । उनले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकमलाई लोभ्याएको विचार व्यक्त गरे ।
देशको पर्यटन प्रवर्द्धनमा रिसोर्ट सहयोगी हुने तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले विश्वास व्यक्त गरे ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले रिसोर्ट सञ्चालन गर्ने बताए ।