काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलिन्द्रप्रसाद शर्माले लघुवित्त क्षेत्रमा उत्पन्न गम्भीर संकटको दीर्घकालीन समाधानका लागि बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई १७ बुँदे सुझावपत्र पेस गरेका छन् । शर्माले आइतबार नेपाल राष्ट्र बैंक पुगेर कार्यदलका संयोजक रेवतबहादुर कार्की र कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई प्रत्यक्ष भेटेर सुझावहरू प्रस्तुत गरेका हुन् ।
उक्त सुझावपत्रमा उनले ‘लघुवित्त क्षेत्र सुधार रूपरेखाका आधारमा तीन वर्षे संरचनात्मक सुधार कार्यक्रम आवश्यक रहेको बताएका छन् । वर्तमान संकटको समाधान सतही उपायबाट सम्भव नभएको उल्लेख गर्दै उनले ब्याजदर नियन्त्रण, संस्थागत मर्जर, ऋणी शिक्षामा जोड, ग्रामीण वित्तीय मोडेलको पुनरावलोकन र सामाजिक सशक्तीकरणमा आधारित दीर्घकालीन रणनीति प्रस्तुत गरेका छन् ।
शर्माका अनुसार लघुवित्त संस्थाहरू समाजका निम्न आय वर्गका नागरिकमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भए पनि अहिले यी संस्थाहरू स्वयं गम्भीर संकटमा छन् । यो अवस्थाले संस्थाका सदस्य, कर्मचारी र सेयरधनीहरूमा असन्तोष र अविश्वास बढाएको छ, जसको दीर्घकालीन असर सम्पूर्ण वित्तीय प्रणालीमा पर्नसक्ने चेतावनी उनले दिएका छन् ।
उनको सुझावपत्रमा उल्लिखित प्रमुख बुँदाहरूमा कर्जा पुनर्संरचनाको स्पष्ट मापदण्ड निर्माण, आंशिक कर्जा माफी योजना र कर्जा मिलाउने व्यवस्था प्रमुख छन् । शर्माले साना संस्थाहरूलाई मर्ज वा गाभेर संस्थागत संख्यामा कटौती गर्नुपर्ने र एक वर्षभित्र लघुवित्त संस्थाको संख्या २० भित्र सीमित गर्नुपर्ने सुझाव दिएका छन् । यस्तो मर्जका लागि संस्थालाई कर छुट, पुँजी कोषमा सहुलियत, सहुलियतपूर्ण ब्याजदरको फन्ड व्यवस्थापनजस्ता प्रोत्साहन रहेका छन् ।