काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र राइजिङ हाइड्रोपावर प्रालिबीच संस्थागत परामर्श सेवासम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोहीअनुरूप राइजिङ हाइड्रोपावरका तर्फबाट अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संस्थागत परामर्श सेवासहित आवश्यक पुँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लिखित उद्देश्यबमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको हो ।
राइजिङ हाइड्रोपावर कम्पनी प्रालि नेपालको जलविद्युत् क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित एक अग्रणी संस्था हो । कम्पनीको स्थापना २०६२ साल फागुन २२ मा भएको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको प्रमुख आयोजना सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट)ले वार्षिक ६.७७ गीगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ ।
२०८१ साल चैत्र २७ गतेको साधारण सभाबाट कम्पनीले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रूपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरी टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन पेस गरेको कम्पनीले जानकारी दिएको छ । आव २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्काशन गरी ४० करोड मात्र चुक्ता पुूजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । यस कम्पनीले अन्य विभिन्न पाँचवटा जलविद्युत् कम्पनीहरूमा लगानी प्रवद्र्धन गर्ने समेत लक्ष्य रहेको जानकारी कम्पनीले दिएको छ ।