विराटनगर । उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा राष्ट्रिय ऊर्जा दक्षता केन्द्रको सहकार्यमा कार्बन फुटप्रिन्ट असेसमेन्टसम्बन्धी तालिम आयोजना गरेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरूको सहभागितामा भएको तालिमममा प्राविधिक जनशक्तिको क्षमता र दक्षता अभिवृद्धिका लागि व्यावहारिक कार्बन उत्सर्जनको पहिचान, मापन तथा विश्लेषण समेत जानकारी दिइएको छ । उक्त तालिमबाट अब उत्सर्जनको पहिचान गर्दै क्षति न्यूनीकरण गर्न सक्षम बनाउने र दिगो तथा लो कार्बन इन्डस्ट्रिज अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको उद्योग संगठनले जनाएको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीले तालिमको समापनमा कार्बन उत्सर्जनको पहिचान र नियन्त्रण, ऊर्जा र कच्चा पदार्थको खपतको प्रभावकारितामा महत्वपूर्ण हुुने बताए ।
साथै, उनले कार्बन उत्सर्जन न्यूनीकरणका उपायहरू अवलम्बन गर्न तालिम सहयोगी भएको उल्लेख गरे । प्रविधिको विकाससँगै नयाँ चुनौतीहरू पनि थपिँदै जाने भएकाले उद्योगमा कार्यरत प्राविधिकहरूलाई नयाँ परिवर्तनहरू आत्मसात गर्न सक्नेगरी क्षमता विकास गर्न संगठनले यस प्रकारको अन्य तालिमहरू आगामी दिनमा पनि अझ प्रभावकारीरूपमा आयोजना गर्ने अध्यक्ष राठीको भनाइ छ । सात दिनसम्म सञ्चालन गरिएको तालिममा ऊर्जाको उपयोग, दिगो उत्पादन र वातावरणमैत्री छवि निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम पालना, नयँ बजार पहुच र प्रतिस्पर्धात्मक लाभ, व्यावसायिक सामाजिक उत्तरदायित्वजस्ता विषयहरू समावेश गरिएको थियो ।