काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८२ जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सार्वजनिक गरे । त्यो बजेट वक्तव्यको ३२७ औँ बुँदामा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/८३ भित्र ‘नियो बैंक’ स्थापना गरिनेछ । दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिनेछ । डिजिटल, मोवाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गरिनेछ ।’ सरकारले बजेटमार्फत ‘नियो बैंक’ सञ्चालन गर्ने योजना अघि सारेपछि अहिले त्यसको चर्चा चुलिएको छ ।
नियो बैंक भनेको के हो ? यसले कसरी काम गर्छ ? नेपालमा नियो बैंकले कसरी काम गर्छ ? परम्परागत बैंकिङ र नियो बैंकबीच के भिन्नता छ ? विश्वमा नियो बैंकको अवस्था कस्तो छ ? आदि बारेमा चासो र चर्चा दुवै चुलिएको छ । पछिल्लो केही वर्षमा विकसित राष्ट्रहरूमा ‘नियो बैंक’ भन्ने अवधारणा निकै चर्चामा आएको छ । यो अवस्थामा आर्थिक वर्ष २०८२/८३मा सरकारले बजेटमार्फत नियो बैंकको अवधारणा अघि सारेपछि नेपालजस्तो विकासशील राष्ट्र पनि नियो बैंकमा प्रवेश गर्नुपर्ने बेला आएको छ ।
खासगरी विश्व बजारमा कोभिड–१९ पछि नियो बैंकिङको आवश्यकता महसुस गरिएको हो । नेपालको सन्दर्भमा नियो बैंक केवल वैकल्पिक सेवा होइन, यो एउटा आवश्यकता बन्दै गएको छ । डिजिटल युगमा सर्वसुलभ, द्रूत, सुरक्षित र समावेशी वित्तीय पहुँच उपलब्ध गराउन नियो बैंक पछिल्लो समय आवश्यकताको विषय बनेको हो ।
नियो बैंक भनेको पूर्णतः डिजिटल बैंक हो । यसले परम्परागत बैंकको जस्तो शाखाविना नै अनलाइन प्लेटफर्ममार्फत बैंकिङ सेवा प्रदान गर्छ । यसमा मोबाइल एप्स, वेब प्लेटफर्म र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी ग्राहकको बैंकिङ अनुभवलाई सहज, सरल र कम लागतमा पु¥याइन्छ । यसले खाता खोल्न, बचत गर्न, कर्जाको सुविधा लिन, बिल भुक्तानी गर्न, लगानी गर्नजस्ता सबै बैंकिङ सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउँछ ।
नेपालमा पछिल्लो समय वित्तीय पहुँचको बिस्तार आक्रामकरूपमा भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपालमा अहिले २० वटा वाणिज्य बैंकका पाँच हजार ८३ वटा शाखा, क्षेत्रीय र राष्ट्रियस्तरका गरी १७ वटा विकास बैंकका एक हजार एक सय १३ वटा शाखा, १७ वटा फाइनान्स कम्पनीका दुई सय ९१ वटा शाखा, ५२ वटा लघुवित्तका चार हजार नौ सय ९८ शाखा र एउटा पूर्वाधार बैंक सञ्चालनमा छन् । यसरी कुल एक सय सात वटा बैंक तथा वित्तीय संस्थाका ११ हजार पाँच सय पाँच वटा शाखा कार्यालयले वित्तीय सेवा प्रदान गर्दै आएका छन् ।
तथ्याङ्कअनुसार वित्तीय पहुँच बढ्दै गएको देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सहज बैंकिङ पहुँच विस्तार हुन सकेको छैन । अझै पनि ग्रामीण क्षेत्र, अल्पसंख्यक समूह र डिजिटल साक्षरतामा कमजोर व्यक्तिहरू बैंकिङ पहुँचबाट बञ्चित छन् । केन्द्रीय बैंकका अनुसार देशको ३० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि औपचारिक वित्तीय पहुँचभन्दा बाहिर छन् । बैंकहरूको सीमित शाखा, उच्च सञ्चालन खर्च, दूरदराजमा सेवा नपुगेको अवस्था र कागजमा आधारित प्रणालीका कारण सेवामा ढिलाइ हुनु सामान्य भएको छ । यसले गर्दा पनि बैंकिङ पहुँच सहरी र सुगम क्षेत्रमा मात्र केन्द्रिकृत रहेको देखिन्छ ।
यस्तो अवस्थामा नियो बैंक नेपालका लागि आवश्यकता हो । अहिले पनि मुलुकको सबै क्षेत्रमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन । हिमाल, पहाड, तराई सबै क्षेत्रका सबै ठाउँमा बैंकका शाखामा पुग्न सक्ने अवस्था पनि छैन । नियो बैंकले मोबाइल र इन्टरनेटमार्फत सेवा प्रदान गर्ने भएकाले जहाँ सिग्नल पुग्छ, त्यहाँ बैंक पुग्ने अवस्था हुन्छ । यसले गर्दा पनि ग्रामीण तथा पिछडिएको वर्गलाई पनि वित्तीय सेवामा समाहित गर्न नियो बैंक सञ्जिवनी बुटी बन्ने जानकारहरू बताउँछन् । नियो बैंकले शाखारहित मोडेल अपनाउने भएकाले भवन, कर्मचारी, कागजी प्रक्रिया आदिमा लाग्ने खर्च निकै कम हुन्छ । यसकारण सेवाको लागत घटाएर ग्राहकलाई सस्तो दरमा सेवा प्रदान गर्न सकिन्छ । साथै, तत्काल खाता खोल्ने, तत्काल ट्रान्सफर गर्ने सुविधा रहेका कारण प्रयोगकर्ताको समय बचत पनि हुन्छ ।
पछिल्लो समय नेपालमा मोबाइल फोनको पहुँच निकै बढेको छ । स्मार्टफोनको प्रयोग दर उच्च छ र इन्टरनेट सेवा पनि विस्तार हुँदै गएको छ । यो अवस्थामा नियो बैंकको प्रयोगले डिजिटल साक्षरतामा सुधार ल्याउनुका साथै आम जनताको प्रविधिमैत्री सोच विकासमा निकै ठूलो सहयोग पुग्नेछ । नेपालमा नियो बैंकको आवश्यकताको महसुस कोभिड–१९ महामारीको समयमा भएको थियो । त्यो बेला परम्परागत बैंकिङ प्रणाली प्रभावित हुँदा डिजिटल माध्यममा निर्भरता अत्यावश्यक बनेको थियो । सो समयमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको प्रयोग निकै बढ्यो । यसले पनि नियो बैंकको आवश्यकता र भविष्यको आकलन गर्न सकिन्छ ।
‘जेन जी’ पुस्ता द्रूत, सहज र प्रविधिजन्य सेवामा विश्वास गर्छ । उनीहरू स–सानो सेवा लिन बैंकको शाखामा जान रुचाउँदैनन्, बरु मोबाइलबाट एक क्लिकमै सबै काम गर्न चाहन्छन् । नियो बैंकले यस्तो पुस्ताको आवश्यकतालाई सम्बोधन गर्न सक्छ । यसकारण पनि भविष्यमा नियो बैंक निकै महत्वपूर्ण हुन सक्छ । नेपालमा पछिल्लो समय बढ्दै गएको स्टार्टअप इकोसिस्टमका लागि द्रूत र सस्तो बैंकिङ सेवा अत्यावश्यक छ । नियो बैंकले साना उद्यमीहरूलाई डिजिटल खाता, अनलाइन पेमेन्ट गेटवे, तुरुन्त कर्जा सुविधाजस्ता सेवाबाट व्यावसायिक सुरुवातमा सहयोग पुर्याउन सक्छ ।
नियो बैंकको सम्भावनासँगै चुनौती पनि
मुलुकको विकास र आर्थिक समृद्धिको लागि नियो बैंकको भूमिका हुन सक्छ । यसको सफल कार्यान्वयनका लागि धेरै चुनौतीहरू छन् । कतिपय ग्रामीण क्षेत्रमा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । पुगेको ठाउँमा पनि पनि गुणस्तरयुक्त छैन । नियो बैंकका लागि यो ठूलो चुनौती हो । किनकि नियो बैंक पूर्णरूपमा डिजिटल कारोबारमा आधारित हुन्छ । नियो बैंकको अर्को प्रमुख चुनौती साइबर सुरक्षाको हो । डिजिटल प्लेटफर्मसँगै साइबर जोखिम पनि बढ्ने भएकाले सुरक्षा प्रणाली बलियो हुनु आवश्यक छ । नेपाल राष्ट्र बैंकले नियो बैंकलाई कसरी मान्यता दिने भन्ने विषयमा अझ स्पष्ट नीति बनाउन सकेको छैन । यो अवस्थामा नेपालले नियो बैंकको लागि पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेको छ । तीव्र गतिको इन्टरनेट, सर्भर क्षमता, क्लाउड कम्प्युटिङ, डाटा सेन्टरजस्ता पूर्वाधार विस्तारमा लगानी आवश्यक छ ।
नेपालमा सिंगो मुलुकको वित्तीय क्षेत्रको भविष्य नियो बैंकमा केन्द्रिकृत हुने देखिन्छ । यो केवल प्रविधिको कुरा होइन, यो समावेशी आर्थिक विकास र सामाजिक समानताको कुरा हो । आजका लागि नियो बैंक एक विकल्पजस्तो देखिए पनि, भोलिका लागि यो आवश्यकता बन्ने निश्चित छ । नेपालले समयमै यो प्रविधि अँगाल्न सकेमा न केवल आफ्ना नागरिकलाई उत्कृष्ट वित्तीय सेवा दिन सक्छ । तर आर्थिक वृद्धिमा पनि नयाँ उचाइ हासिल गर्न सक्छ । अतः अब ढिलो गर्नुभन्दा अगाडि बढेर नीति निर्माण, प्रविधिमा लगानी, जनचेतना र डिजिटल पूर्वाधार विकासतर्फ केन्द्रित भई नेपालले नियो बैंकको यात्रातर्फ कदम चाल्नु आवस्यक छ ।
विश्व बजारमा कस्तो छ ? नियो बैंकको अवस्था
नेपालमा अहिले मात्रै नियो बैंकको चर्चा चलेको भए पनि विश्वका विकसित मुलुकहरूमा निकै अघिदेखि नै नियो बैंक सञ्चालनमा छ । भारतमा पनि सन् २०१५ देखि नै नियो बैंक सञ्चालनमा छ । यसैगरी चीन र जापानमा पनि निकै अघिदेखि नै नियो बैंक सञ्चालनमा छ । नियो बैंकले भारतमा क्रस–बोर्डर ट्राभल–बैंकिङमा केन्द्रित एक डिजिटल बैंकिङ प्रदायकको रूपमा आफ्नो गतिविधि चलाइरहेको छ ।
सुरुवाती समय भारतमा नियो बैंकले बचत खाता, खर्च नियन्त्रण र लगानी सेवा प्रदान गथ्र्यो । तर निक्षेप तथा रेगुलेटरी लाइसेन्स नभएकाले प्रत्यक्ष ऋण दिन सक्दैनथ्यो । पछि भारतले यसमा सुधार गर्यो । भारतमा सन् २०१५ को हाराहारीमा सुरु भएको नियो बैंकको संख्या अहिले २७ वटा पुगिसकेको छ । यी बैंकहरूले मुख्य रूपमा डिजिटल बैंकिङ सुविधाहरू दिँदै आएका छन् । फ्रिओ, एफ आई मनी, जुपिटर, इन्स्टा पे, फाम पे, माविला मनी, नियो, राजोर पे एक्स, चेक बुक, फिनसहितका झण्डै २७ वटा नियो बैंंकहरूले वित्तीय सेवा उपलब्ध गराउँदै आएका छन् ।
चीनमा पनि नियो बैंकको अवस्था निकै बलियो रहेको छ । चीनमा हाल चार वटा मुख्यरूपमा डिजिटल अर्थात् अनलाइन–मात्र बैंकहरू सक्रिय छन् । बैंकहरू सन् २०१४ देखि २०१७ को अवधिमा सरकारद्वारा आरम्भ गरिएका हुन् । चीनमा हाल बी बैंक, माई बैंक, ¥यापिड, स्क्रिल, बाइज, एयर बालेक्स, ट्रान्सफर गोलगायतका नियो बैंकहरूले वित्तीय सेवा उपलब्ध गराउँदै आएका छन् ।
जापानमा भने नियो बैंक अर्थात् डिजिटल बैंंकहरूको संख्या सीमित रहेको छ । वाइज, जिनोमी, बिल्डर आदि कम्पनीहरूले जापानमा नियो बैंकको रूपमा काम गर्दै आएका छन् ।
राष्ट्र बैंकका प्रवक्ता पण्डितको भनाइ
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उक्त आर्थिक वर्षभित्रमा नियो बैंक सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सरकारले आवश्यकताको आधारमा बजेटमार्फत नियो बैंकको अवधारणा ल्याएको हुन सक्छ । मुलुकको समग्र आर्थिक विकास र वित्तीय पहुँच विस्तारका लागि सरकारले बजेटमार्फत घोषणा गरेको नियो बैंकको अवधारणा निकै राम्रो हो । तर नियो बैंकका लागि आवश्यक पर्ने नीति, नियम, कानुन, कार्यविधिहरू केही बनेको छैन । अहिले नियो बैंक सुरुवाती चरणमा छ, राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित भन्छन् । यो अवस्थामा पनि राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही नीतिगत व्यवस्था गर्ला । त्यसपछि मात्र नियो बैंक किन र केका लागि आवश्यक पर्यो त्यसको औचित्य पुष्टि होला । त्यसपछि नियो बैंक सञ्चालनका लागि आवश्यक नियम कानुनहरू बन्लान्, कुन मोडालिटीमा सञ्चालन हुने भन्ने फ्रेमवर्क तयार हुन सक्ने प्रवक्ता पण्डितको भनाइ छ ।