काठमाडौं । खासगरी उच्चशिक्षाका लागि ‘फलामे ढोका’ भनी चिनिने एसईईको नतिजामा पछिल्लो समय केही सुधार आएको देखियो । यो वर्ष सफल हुनेको संख्या ६१ प्रतिशतबाट नाघेको छ । नत्र यसअघिका वर्षहरूमा सफल हुनेभन्दा असफल हुनेको संख्या ठूलो हुनेगरेको थियो । यो परीक्षा वास्तवमा सामान्य होइन । एउटा विद्यार्थीको बाल्यकालदेखि किशोर समयको १२–१५ वर्ष यो परीक्षाको सेरोफेरोमा बितेको हुन्छ । त्यसपछि पनि ऊ असफल भयो भने त्यसमाथिको अध्ययन उसका लागि रोकिन्छ । प्रत्येक वर्ष यो तहमा करिब पाँच लाखको हाराहारीमा विद्यार्थी यो तहको परीक्षामा सहभागी हुन्छन् । त्यसमध्ये आधाभन्दा बढीको संख्या असफल हुनु भनेको प्रत्येक वर्ष अनपढहरुको जमात बढाउने काम राज्यबाट भइरहेको हुन्थ्यो । यो बेलासम्म विद्यार्थी असफल हुँदा यसको दोष उसमाथि मात्रै थुपारिन्थ्यो र गुणस्तरीय पठनपाठन गराउनुपर्ने दायित्व भएका राज्यका जिम्मेवार निकायका अधिकारीको भूमिका भने चर्चामा समेत ल्याइँदैन थियो । यद्यपि यो परम्परा अहिले पनि कायमै छ तर यो पटक अलिकति सुधार भएकाले आशा गर्ने ठाउँ भने देखिँदै छ ।
२०८०को यो एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका थिए । चालू वर्ष भने प्रधानमन्त्रीले नै जसरी भए पनि पास हुनेको संख्या ७० प्रतिशत कटाउन कडारूपको निर्देशन दिएपछि यो नतिजा आएको बुझाइ छ । यसको अर्थ हो, जिम्मेवार पक्षहरूलाई सतर्क गराउने हो भने यो परीक्षामा सुधारको सम्भावना पूराका पूरा मात्रामा छ भन्ने यो एउटा दृश्य हुनुपर्छ । यो वर्षको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु सुधारको अवस्था हो । प्रधानमन्त्रीको ७० प्रतिशत त पुगेन तर पास हुनेको भन्दा फेल हुनेको संख्या बढी हुनेगरेको अवस्था भने रोकिएको छ । अघिल्लो वर्ष अर्थात् २०८० सालको परीक्षामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी पास भएका थिए । अर्थात् ५२ दशमलव १४ प्रतिशत विद्यार्थीको नतिजा असफल भएकोमा दर्जिएको थियो । यसैमा हो प्रधानमन्त्रीले आक्रोश व्यक्त गरेको पनि । त्यसपछि यो असफलतालाई कसरी सफलतामा परिणत गर्ने भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नतिजा सुधार गर्ने विषयमा अध्ययन गर्न कार्यदल नै बनायो । ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकहरूको तलब बढाइँदैन भन्नेसम्मका कुरा आए । पछिल्लो परिणाम आउँदाको समयमा पनि शिक्षकहरू आफ्ना सुविधा बढाउनका लागि आन्दोलनरत नै थिए । तथापि अहिले देखिएको परिणामलाई भने सकारात्मक मान्नुपर्छ ।
यो विवरण यहाँ उल्लेख हुनुको कारण हो, सरकारले केही कडाइ गर्ने हो भने आम शिक्षामा सुधार आउन सक्छ । गत वर्षभन्दा १३ दशमलव ९५ प्रतिशतले एसईईको नतिजामा सुधार आउनु वास्तवमै सुधार हो । नतिजामा आएको यस्तो सुधारबारे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष भन्छन्, ‘गत वर्षको नतिजालाई विश्लेषण गरेर प्रत्येक स्थानीय पालिकामा तपाईँहरूको नतिजा यो–यो विषयमा कमजोर छ, कमजोर नतिजालाई सुधार गर्नका लागि शिक्षण सिकाइमा जुन विषयको कमजोर हो त्यो विषयको पठनपाठनलाई बढी केन्द्रित गर्न भनेर हामीले निर्देशन गरेका थियौँ ।’ उनको यो भनाइलाई आधार मान्ने हो भने यो परीक्षाको नतिजा सुधारका लागि अर्थात् पठनपाठनमा गुणस्तर कायम गर्नका लागि धेरै ठूलो महाभारत पनि रहेनछ । यति गर्दा नै परिणाम सुध्रिन्छ भने विगतमा धेरै ठूलो संख्याका विद्यार्थी फेल हुनुमा सरकार पनि दोषी रहेछ भन्ने देखिन्छ । अब भने यस्तो स्थिति रहन दिनु हुँदैन । पठनपाठनमा लागेको एउटा शिक्षकलाई आफ्नो पेसाप्रति जवाफदेही तुल्याउँदा मात्र पनि यो तहको पढाइमा गुणस्तर आउँदोरहेछ भन्ने यो उदाहरण हो । यसको अनुकरण हुनुपर्छ ।