काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो ।
नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय–आधारित पर्यटन प्रवद्र्धनको नीतिले नेपाललाई एकल यात्रुहरूका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ । मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । यसमा एभरेस्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ ।
नेपाल पर्यटन बोर्डले एकल यात्रुहरूको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यहरूमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ । बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ । नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्याङ्कन गरिएको छ ।
मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । यसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य र लोकप्रियताजस्ता पक्षहरू समेटिएका छन् । मच बेटर एड्भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छन् भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया. पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रिस छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवद्र्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।