काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनले हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण गरिनुपर्ने खाँचो औँल्याए । यस्तै, उनले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता जनाए । कार्यक्रममा उनले निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखीरूपमा कार्य गर्न निर्देशन समेत दिए ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यको जानकारी दिँदै सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको बताए । निगमको उद्देश्यअनुरूप कटिबद्ध भई नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिँदै सुलभ, भरपर्दो र नियमित सेवामार्फत विश्वसनीयता कायम राख्नुपर्नेमा उनले जोड दिए । वायुसेवा निगमले स्थापनाको ६७औँ वार्षिकोत्सव साताव्यापीरूपमा रचनात्मक कार्यक्रमका साथ मनाएको हो । निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ ।
वार्षिकोत्सव मूल समारोह समितिद्वारा आयोजित आकास भैरव पूजामा पर्यटनमन्त्री पाण्डे र निगमका कार्यकारी अध्यक्षले आकाश भैरवको पूजा समेत गरेका थिए । वार्षिकोत्सवका अवसरमा निगमद्वारा नवनिर्मित डाटा सेन्टरको उद्घाटन समेत गरिएको थियो । साथै, पर्यटनमन्त्री, निगमका पदाधिकारी एवं कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम पनि गरिएको निगमले जनाएको छ । निगमको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी भूगोलपार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालय परिसरमै आएर समापन भएको थियो ।
सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ‘ए’ ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइडबडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्विनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्किँदो उपस्थिति छ ।