काठमाडौं । माथिल्लो चौरी खोला जलविद्युत् आयोजानाले आउँदो पुस महिनाभित्र विजुली उत्पादन गर्ने भएको छ । काभ्रे जिल्लामा निर्माणाधीन छ मेगावाटको सो आयोजना पुससम्म निर्माण सम्पन्न भएर सञ्चालनमा आउने भएको हो ।
कर्णाली जलस्रोत लिमिटेड(कार्जल)को मंगलबार राजधानीमा सम्पन्न विशेष साधारणसभामा कम्पनीका अध्यक्ष इन्जिनियर लोकबहादुर रावतले सहायक कम्पनी हिमालयन वाटर रिसोर्सेस एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लगानीमा निर्माणधीन सो आयोजना विविध कारणवश समयमै सम्पन्न गर्न नसकिएको बताए । हालसम्म ८५ प्रतिशत कार्यसम्पन्न भइसकेकाले पुसभित्र निर्माणको काम सकेर उत्पादन थाल्ने उनले दाबी गरे ।
यस्तै, उनले कार्जललाई समयको मागअनुसार प्रभावकारी बनाउन उद्देश्य परिवर्तन गरी अगाडि बढाउन विशेष साधारणसभा डाकिएको जानकारी दिए । विशेष साधारणसभाले आवश्यकताको सिद्धान्तबमोजिम लिमिटेडको उद्देश्य समेत परिवर्तन गरेको जनाएको छ । कम्पनीका कानुनी परामर्शदाता अधिवक्ता चक्रबहादुर थापा(अमित)ले लगानी गर्ने कम्पनी र उत्पादन गर्ने कम्पनीबीचमा प्रस्ट व्यवस्था नभएको कारण कम्पनीको मुख्य उद्देश्य परिवर्तन गर्नुपरेका बताए । बैंकबाट ऋण लिएर लगानी गरिएको र सोको ग्यारेन्टर कार्जल रहेको र ऋण चुक्ता पनि असहज हुँदा समस्या आएको उनको भनाइ थियो । ‘लगानीकर्ताले लगानी गर्नुभयो तर आयोजना सम्पन्न नभई ऋण चुक्ता हुने कुरा पनि भएन, त्यसो नहुँदा सेयरधनीहरूले एकातिर लामो समय लाभांश नपाउने भने, अर्कोतिर सेयर खरिद तथा बिक्री–वितरण पनि गर्न नपाउनेलगायतका समस्या हल गर्न ‘आवश्यकताको सिद्धान्त’बमोजिम यो साधारणसभाबाट ‘जलविद्युत् उत्पादन गर्ने कम्पनी’बाट ‘इन्भेष्टमेन्ट कम्पनी’मा परिणत गरिएको हो’, उनले भने ।