काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरू सम्पन्न गरेको छ ।
बैंकले शिक्षालाई प्रोत्साहन दिँदै सुदूरपश्चिम प्रदेशको डोटीको बटालागाउँ, पूर्वीचौकी गाउँपालिका वडा नं. ५ स्थित श्री नवप्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्राहरूलाई विद्यालय पोषाक उपलब्ध गराएको छ । यस कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकरात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश वीरेन्द्रनगर–४ सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोगस्वरूप १० थान ह्वीलचेयर प्रदान गरेको छ, जसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र ज्येष्ठ नागरिकहरूलाई सहज हुने बैंकले जनाएको छ । साथै, कोशी प्रदेशस्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उद्देश्यले ७ थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यसबाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरतालगायतका क्षेत्रमा निरन्तर सकरात्मक योगदान पुर्याउँदै आइरहेको छ । आगामी दिनमा समेत यस किसिमका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।