काठमाडौं । यामाहा ग्लोबलले ७०औँ वार्षिकोत्सव मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गरेको छ । विश्वभर यो दिवसमा यामाहाको इन्जिनियरिङ, मोटरस्पोट्र्स र सँगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ । नेपालमा पनि यो उत्सव अझ विशेष र भावनात्मक बनेको यामाहा नेपालले जनाएको छ । कम्पनीले यस वर्षको उत्सव नेपालमा विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न गरेको छ ।
कम्पनीले एमएडब्लु फाउन्डेसनको संयोजनमा नक्साल सोरूममा रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको छ । यस्तै, देशभरिका सबै सोरूमहरूमा सडक सुरक्षा तालिमहरू पनि आयोजना गरिएको छ । यामाहा नेपालका सीइओ दीपक अग्रवालले यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले सञ्चालित विश्वव्यापी भावनाको साहसिक प्रतिविम्ब बनेको बताए ।
एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एकको रूपमा स्थापित भइसकेको छ । उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ ।