धनुषा । धनुषामा ६५ वर्षीय एक वृद्धको आफ्नै ज्वाइँले छुराप्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ विमलका ज्वाइँले बुधबार बिहान १० बजे घरमै छुरा प्रहार गरेको हुन् । जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई पेटमा चक्कु प्रहार गरेपछि वासुदेव गम्भीर घाइते भएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा वृद्धलाई उपचारका लागि पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।