काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बुधबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेहरूले अहिले आएर संविधानको विरोध गर्नु उचित नहुने धारणा राखेका छन् ।
प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालीरहेका उपप्रधानमन्त्री सिंहले २०१७ सालमा गुमेको जनताको मौलिक अधिकार २०४६ सालमा प्राप्त गरिएको कसैले बिर्सिन नहुने बताए । उनले आफूहरू जनताको सेवाका लागि राजनीतिमा आएकाले आफ्नो धर्म भनेको जनताको सेवा गर्ने भएको बताए ।
उनले भने, “सरकारको कामकारबाहीलाई जनताले हेरेर बसिरहेका छन् । जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्छ ।” निजामती विधेयकमा केही तलमाथि भएको भन्दै सहरी विकासमन्त्री सिंहले विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ ।
करिब ५१ करोड बढी लागतमा नगरको आफ्नो भवन निर्माण गरिएको जनाइएको छ । बुधबारको कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नगरको नयाँ भवन निर्माण भएकोप्रति खुसी व्यक्त गर्नुका साथै नागरिकलाई सेवा प्रवाहमा सहज होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।