काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उच्चस्तरीय संसदीय समिति गठन गर्न सिफारिस गरेको छ। समितिको बुधबार बसेको बैठकले सभामुखलाई छानबिन समिति गठनको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो। समितिका सभापति रामहरि खतिवडाले विधेयकमा षड्यन्त्रपूर्ण र दुराशयपूर्ण ढंगले हेरफेर भएकाले दोषी को–को छन् भन्नेबारे छानबिन आवश्यक भएको बताएका थिए । खतिवडा स्वयम यसमा दोषी देखिएको भन्दै सत्तारुढ दलभित्रका सांसद र विपक्षीहरुले राजिनामाको माग गरेका थिए । बैठकले कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पारित गरेको मर्मअनुसार प्रतिवेदनको बुँदा ४३ लाई संशोधन गर्न राष्ट्रियसभालाई आग्रह गर्ने निर्णय पनि गरेको छ।