बारा । बाराको जितपुरसिमरामा रहेको जगदम्बा स्टिल उद्योगको भट्टीमा बुधबार राति करिब साढे नौ बजेतिर विस्फोट भएको छ । फलाम गाल्ने भट्टीमा विस्फोट हुँदा आसपासका घरहरूमा कम्पन उत्पन्न भएको थियो । यद्यपि विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठले उद्योगमा विस्फोट हुँदा आसपास कम्पन महसुस भएको बताए । उनका अनुसार विस्फोटमा परी भट्टी अपरेटर भारतको बिहार समस्तीपुरका अजय बैठा घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पुर्याइएको र उनको अवस्था खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए ।
भट्टी कसरी पडकियो र त्यसमा के कस्तो भौतिक छ भन्ने बारेमा सबै जानकारी प्राप्त भइनसकेको उनले बताए । इलाका प्रहरी कार्यालय सिमराले पनि उद्योगभित्र विस्फोट भएकोे तर क्षतिको विवरण आइनसकेको जानकारी दिएको छ । सो उद्योगमा यसअघि २०७५ असोजमा पनि विस्फोट भएको थियो । त्यसबेला पनि पाँच जना भारतीय मजदुर घाइते भएका थिए ।