काठमाडौं । करिब चार महिनाको अन्तरमा आएका दुई पूर्वराष्ट्राध्यक्षहरूको सक्रिय हुने वक्तव्य उस्तैउस्तै देखिएको छ । यद्यपि यिनका अवस्था भने भिन्न छन् । एकजना वंशका आधारमा अर्का निर्वाचित भएर आएका राष्ट्राध्यक्ष ।
एकजना फेरि त्यस्तै वंशका आधारमा राष्ट्राध्यक्ष हुन खोज्दैछन् भने अर्का फेरि निर्वाचित भएर आउने अभियानमा छन् । तर यिनका दाबी भने मिल्छन् । त्यो हो अरूले गर्न सकेनन्, सक्तैनन्, त्यसकारण म नै चाहियो । यो देशले अब मलाइ नै खोजेको छ । म आउन अब तिमी जनताले साथ देऊ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ को अवसरमा पोखराबाट र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ मा आफना दिवंगत श्रीमान् ७४ वर्षमा प्रवेश गरेको अवसरमा जारी गरेका वक्तव्यहरूमा देशको शासन व्यवस्था अरूले चलाउन नसकेको र त्यसका लागि आफू मात्र योग्य रहेको बताउन खोजिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिति सुधार्ने हो भने आफूलाई साथ दिन भने जस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि देशको हित र भलाइका लागि आफू सक्रिय हुने भनेर घोषणा गरिन र स्थिति सुधार्नकै लागि आफूलाई साथ दिन भनिन् ।
तर यता यी दुई पूर्वराष्ट्राध्यक्षले गरेको आफ्नो सक्रियताको दाबीलाई दुवै पक्षका एकएक वटा झुण्डबाहेक अरू कसैले मन पराएको पाइएन । पूर्वराजाको सक्रियतालाई पूर्वपञ्चहरूले र पूर्वराष्ट्रपतिको सक्रियतालाई एमालेको ओलीबाट खेदिएको एउटा गुट मात्रैले समर्थन गरेको पाइएको छ ।
यी दुई पूर्वहरूका आफ्नो सक्रियताको आधार पनि पारिवारिक देखिन्छ । ज्ञानेन्द्र आफ्नो पूर्खाले आर्जेको देश भनेका छन् भने विद्याले आफ्ना श्रीमान्ले आर्जेको सिद्धान्त ।
ज्ञानेन्द्रले देश खतम भइसकेको भनेका छन् भने विद्याले जे गर्नुपर्ने थियो त्यो नभएको भनेकी छन् । ज्ञानेन्द्रको राष्ट्राध्यक्ष सात वर्षको रह्यो भने विद्याको आठ वर्षको । यो कार्यकालमा उनीहरूले गर्न नहुने जे–जे गरे त्यसबारे भने दुवैले सामान्य चर्चा समेत गर्न आवश्यक ठानेको पाइएन ।
यी दुई पात्रको सक्रियताले पार्ने नोक्सानी भने करिब–करिब एउटै छ । त्यो हो गणतान्त्रिक पद्धतिमाथि सानो–ठूलोजस्तो होस प्रहार हुनु । यदि ज्ञानेन्द्र फेरि गद्दीसीन भए भने गणतन्त्र रहँदैन । विद्याको सक्रियताले भने गणतन्त्रको मूल्य र मान्यतामाथि मात्रै प्रहार गर्छ । यी दुई पात्रको सक्रियताले हालको व्यवस्थामा ल्याउने फरक पनि यति नै होला ।
पूर्वराष्ट्रपतिको आह्वान
नेपालको लामो राजनीतिक संक्रमणकाललाई समाप्त पारेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त भएको यो सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै हो ।
जबज कुनै विदेशी सिद्धान्तको नक्कल होइन, बरु नेपाली जनताको जीवन, सामाजिक संघर्ष, ऐतिहासिक सन्दर्भ र भविष्यप्रतिको सामूहिक आकांक्षाबाट उत्पन्न एक नवीन र सिर्जनात्मक राजनीतिक विचार हो । त्यसैले, हामी यसलाई नेपाली माटोमा उत्पत्ति र विकास भएको एक मौलिक राजनीतिक–वैचारिक सिद्धान्तका रूपमा स्वीकार गर्दछौँ । नेपालको माटोमा जन्मेको मौलिक सिद्धान्त जबजको प्रकाशमा मुलुकमा सामाजिक–आर्थिक विकासका क्षेत्रमा अहिलेसम्म प्राप्त भएको सफलता महत्वपूर्ण भए पनि हाम्रो लक्ष्यको सापेक्षतामा यो आंशिक उपलब्धि हो । अझै पनि मुलुकमा वर्गीय असमानता, क्षेत्रीय विषमता, भ्रष्टाचार, जातीय विभेद, लैङ्गिक असमानता, अवसरवाद र अराजकतावादजस्ता सामाजिक, आर्थिक एवं राजनीतिक विकृति र विसंगतिहरू यथावत् छन् । समाजको रूपान्तरणका बाधक यस्ता समस्याहरू अन्त्य नगरी नेपाल समुन्नत बन्न सक्दैन ।
नेपाललाई एक स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र भएको विकसित राष्ट्र बनाउने सपना साकार पार्न सुशासनप्रति अडिग आस्था, नतिजामूलक कार्यक्रमहरू र जनमुखी व्यवहार जबजको आगामी यात्राका मुख्य आधार बन्नुपर्ने आवश्यकता छ । मुलुकको भविष्यको महत्वपूर्ण आधार आजका बालबालिका, नव–पुस्ता र युवाहरू नै भएकाले उनीहरूलाई आवश्यकताअनुसार गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता प्रदान गर्नुपर्ने खाँचो छ । साथै, विज्ञान र प्रविधिको विकासमा शैक्षिक संस्था र प्राज्ञिक निकायले विशेष ध्यान दिनुपर्दछ । विचार र व्यवहारको दूरी कम गर्ने, नारा र नतिजाबीचको अन्तर घटाउने अनि भविष्यप्रतिको जनताको विश्वास सुदृढ गर्ने अभियान कुनै सामान्य सुधार होइन, बरु यो त जबजलाई युगानुकूल कार्यान्वयन गर्ने गहन र ऐतिहासिक जिम्मेवारी हो ।
यसबीचमा मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तत्र्रिmया गरेको छु र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको छु । मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो । त्यसैले, यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ ।
फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएकी छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— ‘जनता भनेका भगवान हुन् ।’ साथै, उहाँले भन्नुभएको थियो— ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’
आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारको कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् । मलाईजस्तै विगतले अरूलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदाझैँ सबैको सधैँभरि माया र विश्वास पाइरहूँ ।
पूर्वराजाको आह्वान
प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ ।
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मिँदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धराशायी बन्दै छन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।
हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यत्ति मात्र होइन हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुखसुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ ।
अब नेपालको उन्नतिको लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो, राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।