काठमाडौं । हाइड्रोपावरको आईपीओ अनुमति जारी गर्नुअघि नै बिचौलिया लगाएर कमिसन बार्गेनिङ गरेको भन्दै मिडियादेखि अदालतसम्म चर्चा कमाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एकाघरको लगानी रहेको बुंगल हाइड्रो प्रालिलाई फास्ट ट्र्याकबाट लुसुक्क आईपीओ निष्काशनको अनुमति दिइएको पाइएको छ ।
अध्यक्ष श्रेष्ठले आफ्नो व्यक्तिगत स्वार्थमा आईपीओ अनुमतिको लागि कुरेर बसेका ११ वटा कम्पनीहरूभन्दा अगाडि १२औँ नम्बरमा रहेको बुंगल हाइड्रोलाई आईपीओ निष्काशनको अनुमति दिएका हुन् ।
निष्काशनको अनुमति पाउनुअघि क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट कमजोरस्तरको ‘सिंगल बी’ रेटिङ पाएको बुंगल हाइड्रोको आर्थिक अवस्था समेत कमजोर रहेको सम्बन्ध स्रोतले बतायो ।
कानुनतः बोर्ड अध्यक्ष तथा सदस्यको स्वामित्वको कम्पनीलाई आईपीओ निष्काशन गर्न नरोके पनि ११ वटा कम्पनीभन्दा पछाडि रहेको कम्पनीले आईपीओ निष्काशनको अनुमति पाउनु अध्यक्ष श्रेष्ठको नैतिकता, संस्थागत सुशासन र स्वार्थको द्वन्द्व हुन सक्ने स्रोतले दाबी गर्यो ।
शिवशंकर इन्भेस्टमेन्ट प्रालिको १२ प्रतिशत, जलाञ्जली इन्भेस्टमेन्ट प्रालिको २८ प्रतिशत, जयगणेश इन्भेस्टमेन्ट प्रालिको १३ प्रतिशत, बुंगल हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडको १२ प्रतिशत, वरुण इन्भेस्टमेन्ट प्रालिको १४ प्रतिशत र अन्य व्यक्तिगत लगानी २१ प्रतिशत सेयर रहेको बुंगल हाइड्रो प्रालिले बझाङ जिल्लाको बुंगल नगरपालिकामा १० दशमलव ७० मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गर्न लागेको बताएको छ ।
२०७५ सालमा निर्माण सुरु गरेको बुंगल हाइड्रोले २०७८ मंसिर मसान्तबाट व्यावसायिकरूपमा सञ्चालन गर्ने लक्ष्य राखे पनि करिब दुई वर्ष ढिला गरी २०८० भदौ २ देखि मात्र यो आयोजना सञ्चालनमा आएको थियो ।
आयोजना निमार्णमा ढिलाइका कारण आयोजनको लागत समेत बढेर प्रतिमेगावाट २८ करोड ४० लाख रुपैयाँ पुगेको यस आयोजनाको लागत करिब तीन दशमलव शून्य चार अर्ब माथि पुगेको बताइएको छ ।
आयोजना ढिलो निर्माण भई सञ्चालन हुँदा लागत बढेर सञ्चालन गर्न समेत कठिन अवस्थामा पुगेकै बेलामा धितोपत्र बोर्डका अध्यक्षकै एकाघरको लगानी रहेको हाइड्रोले अन्य कम्पनीहरूलाई पछि पार्दै आईपीओ निष्काशनको अनुमति पाउनुले अध्यक्ष श्रेष्ठको बदनियत प्रष्ट भएको स्रोतले बतायो ।
गत आइतबार बसेको धितोपत्र बोर्ड बैठकले २९ करोड पाँच लाख कित्ता सेयर आईपीओ निश्काषनको अनुमति दिएको बुंगल हाइड्रोको सेयरवाला दर्ता किताबअनुसार अध्यक्ष श्रेष्ठको ३३ हजार कित्ता, उनका बुबा चोपनारायण श्रेष्ठको एक लाख कित्ता, उनका पारिवारिक सदस्यहरू सञ्जु श्रेष्ठको नाममा १६ हजार कित्ता, सुनिलनारायण श्रेष्ठको ३३ हजार कित्ता, लक्ष्मी श्रेष्ठको नाममा ३३ हजार कित्ता र श्रेष्ठका नातेदार राजुकुमार श्रेष्ठको नाममा ३३ हजार कित्ता गरी करिब पाँच लाख ४५ हजार सेयर रहेको पाइएको छ ।