काठमाडौ । नेकपा एमालेको सक्रिय राजनितिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधा नलिने भएकी छन् ।
सरकारले दिने सुरक्षाबाहेक अन्य कुनै पनि सेवासुविधा बुधबारदेखि नलिने भण्डारीले घोषणा गरेकी हुन् । भण्डारीको सचिवालयले गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले बुधबारदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।
भण्डारीले यही असार १४ गते औपचारिकरूपमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन् । सोही दिन उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी थिइन् । भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पूर्व राष्ट्रप्रमुख राजनीतिमा सक्रिय हुन हुने/नहुने भन्ने विषयको बहस पनि सुरु भएको छ । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुलाई स्वाभाविकरूपमा लिएका छन् भने अधिकांशले गणतन्त्रको कालो धब्बाको रूपमा लिएका छन् । राष्ट्रप्रमुख भइसकेको मान्छेहरू कुनै अमूक पार्टीको नेता भएर फर्किन नहुने उनीहरूको भनाइ छ ।