काठमाडौँ । पर्यटन क्षेत्रबाट चालू आर्थिक वर्ष २०८१/८२ मा ९३ करोड ३५ लाख रुपैयाँ आम्दानी भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सो जानकारी दिएका हुन् ।
साथै, उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेको जानकारी दिए । मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे समितिलाई जानकारी गराउँदै उनले पर्यटन प्रवर्द्धनका लागि बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्वी एसिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको बताए । उनका अनुसार ती मेलामा सहभागी तीन सय ३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए । विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएकोे जोशीले जानकारी दिए ।
बोर्डले ‘४५ गन्तव्य स्तरीकरण कार्यक्रम’ सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्याङ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको जोशीले बताए । नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरूजस्तै सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको उनले बताए । सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेको उल्लेख गरे ।
आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता र गुणस्तरीय उत्पादनको अभावलगायत यस क्षेत्रका प्रमुख चुनौतीहरू रहेको उनको भनाइ थियो ।