वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले वैदेशिक सहयोगमा गरेको कटौतीका कारण विश्वभर करिब डेढ करोड मानिसको ज्यान जान सक्ने खतरा बढेको छ । यसबारे गरिएको एक अध्ययनले अमेरिकी सहयोग कटौतीका कारण सन् २०३० सम्म विश्वका अति कमजोर र जोखिममा परेका समुदायहरूमा एक करोड ४० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । जसमध्ये पाँच वर्षभन्दा मुनिका बालबालिकाको संख्या एकतिहाइ हुने अध्ययनले देखाएको छ ।
स्वास्थ्य क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित गरिएको सो अध्ययन प्रतिवेदन स्पेनको सेविल्ला सहरमा सम्पन्न अन्तर्राष्ट्रिय सहयोग सम्मेलनको सन्दर्भमा सार्वजनिक गरिएको हो । सो सम्मेलनमा विश्वभरका नेताहरू तथा विज्ञहरू सहभागी भएका थिए ।
उक्त अध्ययनमा विगतमा गरिएको सहयोगको प्रभाव मूल्याङ्कन गर्दै विकासशील मुलुकहरूमा अमेरिकाको वैदेशिक सहयोगबाट सन् २००१ देखि २०२१ सम्ममा करिब नौ करोड १८ लाख व्यक्तिको ज्यान बचाइएको उल्लेख गरिएको छ । यो संख्या दोस्रो विश्वयुद्धमा मृत्यु भएका मानिसहरूको तुलनामा बढी छ ।
सन् २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकी सरकारद्वारा वैदेशिक सहायता कार्यक्रमको करिब ८३ प्रतिशत बजेट कटौती गरिएको थियो । यो नीतिले दीर्घकालीनरूपमा स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पार्ने सम्भावनाबारे विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सहयोग कटौतीको प्रत्यक्ष असर सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिकामा पर्ने प्रक्षेपण गरिएको छ । अध्ययनअनुसार, आगामी पाँच वर्षभित्र ४५ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने जोखिम छ, जुन वार्षिक हिसाबमा करिब सात लाख बाल मृत्यु बराबर हो ।
विज्ञहरूका अनुसार अमेरिकाबाट प्राप्त सहयोगले एचआईभी÷एड्स, मलेरिया तथा अन्य उपेक्षित रोगहरूविरुद्धको उपचार तथा रोकथाममा महत्वपूर्ण योगदान पुर्याएको थियो । ती क्षेत्रमा सहयोग पाएका देशहरूमा मृत्युदर ६५ प्रतिशतसम्म घटेको देखिएको छ ।