ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै छ महिनाको जेल सजाय सुनाइएको छ ।
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन् ।
अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारसँग भने, ‘उहाँ बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नुहुनेछ ।’
यो मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उनले गरेको टिप्पणीमा केन्द्रित थियो, जुन उनीहरूले जारी अदालती सुनुवाइमा साक्षीहरूलाई धम्की दिएको बताएका थिए ।
इस्लामले भने, ‘उहाँको टिप्पणीले मुद्दा दायर गर्नेहरू र साक्षीहरूबीच डरको आभा पैदा गरेको अभियोजन पक्षको जिकिर छ ।’ प्रतिबन्धित अवामी लिगका देशबाहिर रहेका अर्का नेता शकिल अकाण्डा बुलबुललाई सोही मुद्दामा दुई महिनाको जेल सजाय सुनाइएको थियो ।
संयुक्त राष्ट्र संघका अनुसार गत वर्षको जुलाईदेखि अगस्टसम्ममा हसिनाको सरकारले सत्तामा टिक्न असफल प्रयासस्वरूप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार चार जनाको मृत्यु भएको थियो ।