काठमाडौं । नेपालको ऊर्जा उत्पादनमा १३ खर्ब रुपैयाँ लगानी गरिसकेको निजी क्षेत्रले अब चाँडै थप ५० खर्ब रुपैयाँ लगानी गर्न लागेको छ । लगानीको वातावरणमा कुनै अवरोध नआएमा केही वर्षभित्रै ऊर्जामा निजी क्षेत्रको कुल लगानी ६३ खर्ब रुपैयाँ पुग्ने स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
यति धेरै रकम लगानी गरेको निजी क्षेत्रको नेपालको कुल ऊर्जा उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान पुगिसकेको छ । बहुदलीय प्रजातन्त्रपछि ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण कुल ऊर्जा उत्पादन क्षमता ३६ सय दुई मेगावाट पुग्दा निजी क्षेत्रबाट उत्पादित विद्युत् २९ सय मेगावाट पुगेको छ ।
ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमै यति धेरै लगानी भएको हो । निजी क्षेत्रकै अगुवाइमा ४२ सय मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको र ४१ सय मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको इपानले जनाएको छ । सरकारले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको छ । यो मार्गचित्र सफल पार्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने छ । इप्पानले आउँदो असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको रूपमा परिचित पावर समिट, २०२५ आयोजना गर्ने घोषणा समेत गरेको छ ।
इप्पानको विशेष कार्यक्रमको रूपमा सु–परिचित यो पावर समिट २०८२ सालको असोज १ र २ गते अर्थात् १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा हुन लागेको जानकारी इप्पानले बिहीबार पत्रकार सम्मेलन गरी दिएको छ ।
नेपालको ऊर्जा उत्पादनको एक सय १४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन पु¥याउने सरकारको लक्ष्य छ ।
सरकारको उक्त लक्ष्य पूरा गर्न इप्पानजस्तो निजी क्षेत्रको सशक्त संस्था अगाडि आएको हो । इप्पानका अनुसार नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरूको सहभागितामा बृहतरूपमा यो समिट आयोजना गर्न लागिएको हो ।
नेपालका प्रधानमन्त्री एवं विभिन्न देशका विशिष्ठ व्यक्तित्वहरू, विज्ञलगायतको सहभागितामा हुन लागेको यो पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौँ संस्करण हो । ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पु¥याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न÷गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरू, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरू, सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय, मित्रराष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञलगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरूका बारेमा नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ ।
यस वर्षको सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवहरूको आदानप्रदान गर्ने जमर्को गर्नेछ । यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, सरकारी संघसंस्थाका उच्च अधिकारीहरू, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाहरू गरी विगतका सम्मेलनको जस्तै एक हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
विशेषगरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एसियाली देशहरूको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत् र कार्बन व्यापारसँगै नवीनतम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरू निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार गर्ने अपेक्षा छ । त्यस्तै, नेपाल र दक्षिण एसियाली मुलुकहरूको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकासजस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रूपमा चिनाउने थलो समेत उक्त समिट बन्ने इप्पानले अपेक्षा गरेको छ ।
समिटमा हुने आन्तरिक तथा बाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणजस्ता चुनौतीहरूको सामनाका लागि नेपाल र अन्य देशहरूले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरूको अनुभव र अभ्यासहरूको बारेमा समेत समिटमा छलफल हुनेछ ।