बैंकक । थाइल्याण्डले दुई दिनमा दोस्रो प्रधानमन्त्री पाएको छ । गृहमन्त्री फुम्थम भेचायचाईले बिहीबार कार्यवाहक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । उनले २४ घण्टा प्रधानमन्त्री रहेका सूर्या जंगरुनग्रेङकिटलाई प्रतिस्थापन गरेका हुन् ।
सूर्या जंगरुनग्रेङकिटलाई बुधबार देशको कामचलाउ प्रधानमन्त्री नियुक्त भएका थिए । ७० वर्षीय सूर्याले निलम्बित प्रधानमन्त्री पायिटोङ्टार्न शिनावात्राको स्थान लिएका थिए, जसलाई जुन १ मा पदबाट हटाइएको थियो ।
पतोङ्तारन सिनावात्रामाथि एक वरिष्ठ कम्बोडियाली नेतासँग टेलिफोन वार्ता गरेको आरोप लागेको छ । सो टेलिफोन वार्ता सार्वजनिक भएपछि उनले मन्त्रीस्तरीय नैतिक नियमहरूको उल्लंघन गरेको मानिएको छ ।
थाई सरकारले बिहीबार सामाजिक सञ्जालमा भनेको छ कि नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा फुमथमलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्न सहमति भएको छ । यो बैठक थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराएपछि बसेको थियो ।
कम्बोडियाली नेतासँग प्रधानमन्त्री पियातोङथर्नको कुराकानीको भिडियो लिक भएको थियो । सो भिडियोमा प्रधानमन्त्री पियातोङथर्नले कम्बोडियाली नेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै थाई सेना प्रमुखलाई आफ्नो प्रतिद्वन्द्वी भनेकी थिइन् ।
कम्बोडियार र थाइल्याण्डबीच सीमा विवाद चलिरहेको छ । यही विषयलाई लिएर विपक्षी दलले कम्बोडियासामु प्रधानमन्त्री पियातोङथर्न झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएको छ ।