काठमाडौँ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलरसम्म ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले भन्सारमा घोषणा गरेमा थप ६ लाख भारतीय रुपैयाँ ल्याउन सकिने स्पष्ट पारे। पर्यटकहरूको सुविधाका लागि क्युआर कोड र कार्डबाट निश्चित सीमासम्म भुक्तानी गर्न सकिने प्रबन्ध गरिएको पनि उनले बताए।
पौडेलले भारतले पाँच सयको नोट फिर्ता नलिएपछि नेपालमा त्यसको प्रयोग स्वीकार नगरिएको स्पष्ट गरे। साथै, भन्सार पार गरेर गाडी भित्रिएपछि पुनः चेकजाँच नगर्ने व्यवस्था गरिएको जानकारी पनि दिए।
बैठकमा उनले काला धनलाई कर तिरेर वैध बनाउने प्रस्ताव संवेदनशील रहेको भन्दै यस्तो नीति नेपाललाई ‘ग्रे लिस्ट’मा पार्ने खतरा रहेको चेतावनीसमेत दिए।