सर्लाही, जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी प्रमुखलाई फोनमा गाली र धम्की दिएको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।बिहीबार राति यादवले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत “तिमीहरू लुट्न मधेशमा आएको” भन्दै अपशब्द प्रयोग गर्दै गम्भीर आरोप लगाएका थिए।
“ए एसपी, ए एसपी सुन्” भन्दै धम्की दिने अडियो सार्वजनिक भएपछि प्रहरीले अपराधिक उपद्रवविरुद्ध जाहेरी दर्ता गर्यो।एसपी खड्कालाई लुटेरा भन्ने, असली तस्कर जोगाएर निर्दोष नागरिकमाथि मुद्दा लगाइएको आरोप लगाउँदै यादवले आपत्ति जनाएका थिए।
विवाद चुलिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जानकारी दिएको छ।प्रहरी स्रोतका अनुसार, सर्लाहीमा तस्करी नियन्त्रणमा सक्रियतासँगै राजनीतिक दबाब र असन्तुष्टि पनि बढिरहेको छ।यादव–एसपीबीचको टेलिफोन संवाद सार्वजनिक भएसँगै कानूनी प्रक्रिया अघि बढाइएको हो।यस प्रकरणले प्रहरी र स्थानीय राजनीतिक नेतृत्वबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न गरेको छ।