काठमाडौं, नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरूको तर्फबाट चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। स्वास्थ्य प्रणालीमा देखिएका गम्भीर समस्याहरू र सरकारी बेवास्ताविरुद्ध संघले असार २० गते शुक्रबारदेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
गत आइतवार संघले प्रमुख अस्पतालका निर्देशकहरू, विशेषज्ञ संघ, निजी अस्पताल संघ, र स्वास्थ्यसम्बन्धी विभिन्न संस्थासँगको संयुक्त बैठक आयोजना गरेको थियो। बैठकमा सहभागी सबै पक्षले स्वास्थ्य क्षेत्रमा जारी अन्याय, बेवास्ता र चिकित्सकहरूको सम्मानप्रति सरकार गम्भीर नभएको ठहर गर्दै संयुक्त आन्दोलनमा उत्रने निर्णय गरेका थिए।
आन्दोलनका कार्यक्रमहरू यस प्रकार छन्:
असार २०, शुक्रबार
– सम्पूर्ण शाखा कार्यसमितिहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने।
असार २२, आइतबार
– सम्पूर्ण चिकित्सकहरूले कार्यस्थलमा पहिलो घण्टा कालोपट्टी बाँधी विरोध जनाउने।
असार २३, सोमबार
– देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिने।
असार २३, सोमबार
– सबै शाखा समितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई विरोध पत्र बुझाउने, सीमावर्ती नाकाहरूमा केन्द्रित प्रदर्शन गरिने।
असार २३, सोमबार
– सम्पूर्ण चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिललाई आफ्ना पंजीकरण प्रमाणपत्र फिर्ता बुझाउने।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले संघ पटक–पटक संवादका लागि तयार रहे पनि सरकारी तर्फबाट अपेक्षित उत्तर नआएपछि दबाबस्वरूप यो कदम चालिएको स्पष्ट पारेका छन्। संघले आकस्मिक सेवा भने यथावत् सञ्चालन गरिने जनाएको छ ताकि आम नागरिकको आपत्कालीन स्वास्थ्य सेवा प्रभावित नहोस्। संघले सरकारले गम्भीर ध्यान नदिए अझ कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत दिएको छ।