काठमाडौं, नेपाल यू-१६ क्रिकेट टोलीले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार मलेसियामा सम्पन्न रोमाञ्चक फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले पुनः उपाधि उचालेको हो।
सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। एक समय ४०/१ को अवस्थामा रहेको नेपाल ५८/५ मा समेटिँदा दबाबमा आएको थियो। तर, जोय थापा र शुभम खनालले महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए। शुभम १६ रनमा आउट भए पनि जोयले अविजित २४ रन बनाउँदै अभय यादवसँग मिलेर जित सुनिश्चित गरे। अभयले अन्तिम ओभरमा विजयी छक्का प्रहार गरेका थिए।
नेपालका लागि सिंगापुरविरुद्ध बलिङतर्फ अभय यादव र सुशिल रावलले समान ३ विकेट लिए भने शुभम खनालले २ तथा कप्तान बिपिन शर्माले १ विकेट हात पारे। सिंगापुरको पारी ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। रोहन अस्टिनले ९० बलमा सर्वाधिक २३ रन बनाए।
सिंगापुरका बलरमध्ये कपिश भेनकटरमन सर्वाधिक प्रभावशाली रहे, जसले ४ विकेट लिए। युवान पाण्डेले २ तथा आकाश तेजा र वेदांश गुप्ताले १/१ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन्।
नेपाल यस प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो। समूह चरणमै सिंगापुरलाई हराएको नेपालले फाइनलमा पुनः पुनरावृत्ति गरेको छ। नेपालले यसअघि २०२३ मा पनि यो उपाधि जितेको थियो। त्यसअघि यू-१६ इस्टर्न रिजनको नाममा आयोजना हुने प्रतियोगिता नेपालले २०१७ र २०१९ मा समेत जितेको थियो।