धादिङबेशी । नीलकण्ठ नगरपालिकाले बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै खेद प्रस्ताव पारित गरेको छ । नगरपालिकाको शुक्रबार भएको १७ औं नगरसभाको दोस्रो बैठकमा नगरप्रमुख भीमप्रसाद ढुंगानाले पेस गर्नुभएको खेद प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । प्रस्तावमा प्रदेश सरकारले पेस गरेको बजेट संघीयताको मूल मर्म विपरीत, पहुँच केन्द्रित, अनुत्पादक र असन्तुलित रहेको भन्दै बजेट परिमार्जन गर्न गम्भीर ध्यानाकर्षण गराइएको छ । संघीय शासन प्रणालीको आधारभूत तत्व समावेशिता, क्षेत्रीय सन्तुलन र समान अवसरलाई कमजोर पार्ने ढाँचामा बजेट तयार भएको जनाउँदै प्रस्तावमा यसलाई दुःखद र चिन्ताजनक भनिएको छ । यस्तै, प्रदेश सरकारले स्वीकृत गरेको नीति तथा दोस्रो आवधिक योजनामा लक्षित क्षेत्रहरूलाई बेवास्ता गरिएको, साथै स्थानीय तहबाट प्रस्तावित योजनाहरू उपेक्षा गरिएको उल्लेख गरिएको छ । खेद प्रस्तावमा संघीयताको मर्ममाथि ठाडो प्रहार भएको ठहर गर्दै, व्यक्ति र जिल्ला विशेष केन्द्रित बजेटप्रति नगरसभाले आपत्ति जनाएको छ । साथै, नीति निर्माण तथा बजेट प्रक्रियामा पारदर्शिता, समावेशिता र न्यायपूर्ण वितरणको प्रत्याभूति सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।