काठमाडौं, बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै आगामी २०८४ को चुनावपछि हालका दुवै उपप्रधानमन्त्रीलाई संसद्मा देख्न नपरोस् भनी संसद्मै पशुपतिनाथ र बुद्ध भगवान्सँग प्रार्थना गरेर चर्चामा आएका नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ कान्छारामले कालोधनलाई कर तिरेर वैध बनाउन पाउनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्ने क्रममा उनले त्यस्तो माग गरेका हुन् । निर्माण व्यवसायी समेत रहेका विवादास्पद छविका सांसद तामाङले यसअघि उपप्रधानमन्त्रीहरूलाई धारेहात लगाएर गरेको भाकल कालोधनको कारोबार फुकुवा गर्न गरेको बार्गेनिङ रहेको कुरा शुक्रबार उनले अभिव्यक्तिले संकेत गरेको छ ।
समितिकै बैठकलाई सम्बोधन गर्दै उनले १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएको पैसा जेसुकै गरेर ल्याएको होस् निकाल्न दिनुप¥यो, दुई नम्बरी गरेर ल्याएको होस् अथवा छ नम्बरी गरेको होस्, एकपटक पैसा बाहिर निकाल्ने व्यवस्था गरौँ भनेका थिए । तर अर्थमन्त्री विष्णु पौडेलले उनको प्रस्ताव ठाडै अस्वीकार गरे र भने ‘सदनमा यस्ता कुरामा छलफल भयो भन्ने सूचना बाहिर गयो भने हामी झन् समस्यामा पछौँ, हामी कालोसूचीमा पर्छौँ ।’ फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को ग्रे–लिस्टबाट बाहिर निस्कुनपर्ने बेला यस्तो कुरा गरेर कालोसूचीमा पर्नेतर्फ लाग्नुहुँदैन । समितिमा सांसद तामाङले कालोधनको कारोबार खुलाउन माग गरेपछि सांसदहरूले मुखामुख गरेर आश्चर्य प्रकट गरेका थिए ।