काठमाडौं । बजारमा पर्याप्त तरलता भए पनि नयाँ कर्जाको माग घटिरहेका कारण बैंकिङ क्षेत्रमा कर्जामा संकुचन देखिएको छ । यसले गर्दा बैंकहरूको खुद नाफामा अपेक्षित वृद्धि हुन सकेको छैन । निक्षेप बढ्दै जाने तर कर्जाको माग न्यून हुने हुँदा बैंकहरूको कुल खर्च भने उल्लेख्यरूपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)मा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको कुल खर्च लगभग एक खर्ब रुपैयाँ पुग्न लागेको छ । यस अवधिमा लघुवित्तबाहेकका बैंक तथा वित्तीय संस्थाहरूले मात्रै कर्मचारीको तलब, भत्ता तथा कार्यालय व्यवस्थापन खर्चका लागि कुल ९० अर्ब तीन करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूले यस आर्थिक वर्षको १० महिनामा कर्मचारीको तलब भत्तामा ५४ अर्ब ९० करोड ८० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि ३५ अर्ब १२ करोड ५० लाख रुपैयाँ खर्च गरेका हुन् । जुन गत अर्थिक वर्ष (आव)को सोही अवधिको तुलनामा चार अर्ब २७ करोड ५० लाख रुपैैयाँले बढी हो । गत आर्थिक वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले तलब भत्तामा ५१ अर्ब ६६ करोड रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि ३४ अर्ब नौ करोड ८० लाख रुपैयाँ गरी कुल ८५ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
वाणिज्य बैकहरूले चालू आवको वैशाख मसान्तसम्म कर्मचारीको तलब भत्ताको लागि ४८ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनको लागि ३० अर्ब २६ करोड १० लाख रुपैयाँ गरी कुल ७८ अर्ब ६८ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ७४ करोड १० लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीको तलब भत्तामा ४५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा २९ अर्ब ४० करोड २० लाख रुपैयाँ गरी कुल ७४ अर्ब ९४ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।
विकास बैंकहरूले पनि चालू आवको १० महिनामा कर्मचारीको पारिश्रमिकको लागि पाँच अर्ब १३ करोड ७० लाख रुपैयाँ र कार्र्यालय व्यवस्थापनको लागि तीन अर्ब ८६ करोड रुपैयाँ गरी कुल आठ अर्ब ९९ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ३५ करोड ९० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीको पारिश्रमिकका लागि चार अर्ब ९० करोड ७० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि तीन अर्ब ७३ करोड १० लाख रुपैयाँ गरी कुल आठ अर्ब ६३ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरूले पनि चालू आवको १० महिनामा कर्मचारीको तलब भत्ताको लागि एक अर्ब ३४ करोड ६० लाख रुपैयाँ र कार्यालय सञ्चालनका लागि एक अर्ब ३० लाख रुपैयाँ गरी कुल दुई अर्ब ३४ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १७ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीको तलब भत्तामा एक अर्ब २१ करोड रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि ९६ करोड ५० लाख रुपैयाँ गरी कुल दुई अर्ब १७ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।