काठमाडौँ । ‘असार पन्ध्र’ ०८२ दही चिउरा खाने ‘चाड’ का दिन संघीय गणतान्त्रिक संसद्को चालू बैठकमा दुनियाँले प्रस्टै मनोरञ्जन लिनसक्ने स्तरको ‘धाननाच’ देखियो । रवि लामिछानेका कार्यवाहक सभापति डिपी अर्याल र नेपाली कांग्रेसका ‘किर्तेहस्ताक्षर’ र ‘घडीचोर’को आरोप खेपिरहेका सांसद रामहरि खतिवडा (सुशासन सभापति ) एक–आपसमा कपडा खोलाखोल गरेर पूरै संसद्लाई नाङ्गो देखाइरहेका थिए । अर्याल र खतिवडा दुवै एक–अर्कालाई मानव तस्कर प्रमाणित गर्न न्वारानदेखिको बल झिकेर पसिना निकालिरहेका थिए । संसद्भित्रको यस्तो दुनियाँ हँसाउने (नेपाल र नेपाली रुवाउने) धाननाच दृश्यबाट संसद्बाहिर सामाजिक सञ्जालमा भाइरल हुन ऋषि धमलालाई उछिनेर विजय कुमारलाई भेट्न खोजेका प्राडा सुरेन्द्र केसीजस्ता घाघडान संसदीय प्रणाली विज्ञका सुपर दाबेदार राजनीतिक विश्लेषक आदि/इत्यादिहरु खुच्यौँ गर्दै गरेका अडियो भिडियोहरु (संसारव्यापी)मा गीत गाउँदै काखी बजार्दै नाचिरहेका अझै भाइरल नै छ ।
निश्चय नै संसद्को चालू बैठकमा सांसदद्वय खतिवाडा र अर्यालले देखाएका यस्ता जगहँसाइ नाचले तथ्यमा नेपाल आमा र नेपाली जनतालाई मरणासन्न पीरमर्का परेको प्रमाणित हुन्छ । आफ्ना जनता बेच्ने (नेपालीका छाला काढेर सुकाएर बेच्न मात्र बाँकी (पूर्व प्रधानन्यायाधीश सुशीला कार्की) प्रतिस्पर्धामा नाङ्गिने बेइजती सन्तानबाट नेपाल आमा हायल, कायल, घायल मरणासन्न हुनु स्वाभाविक हो । खासगरी नेपालीलाई भुटानी शरणार्थी बेचेका मानव तस्करी पाइला बेचन झामा आइपुगेर सरकार ढलेसम्म र त्यसयता दुर्गा प्रसाईँ, रवि लामिछानेमाथि प्रतिशोध काण्डदेखि अर्याल खतिवडाको आपसमा नङ्ग्याउने हर्कत प्रदर्शनसम्मका कर्तुतहरु (शिशुपालका सय अपराध धेरै पहिले नाघिसकेको हो) केलाउँदा अब भने आम नेपालीमाझ लुट्ने र लुटिनेबीचको ‘कित्ताकाट’ ठूलो पर्खालजस्तै वर्णमाला अक्षर नचिनेकाले पनि टाढैबाट प्रस्ट देखिने गरी छर्लङ्ग भएको छ । देश बेच्ने र मानिस बेच्ने राज्यसत्ता प्रमाणित भएर आम मतदातामाझ छर्लङ्ग ‘कित्ताकाट’ भएका दिन नेपाल र नेपालीका विकास र खुसीका दिन प्रारम्भ हुने विगतदेखि नै पंक्तिकार बोल्दै लेख्दै आइरहेको हो ।
महाभारत कथामा ‘यक्ष प्रश्न’को एउटा प्रसङ्ग आउँछ । ‘कुनै पनि राष्ट्र कतिखेर समाप्त हुन्छ ?’ भन्ने यक्ष (धर्मराज) प्रश्नमा युधिष्ठिर (पाण्डव राजा)को उत्तर हुन्छ, ‘अराजकताले सीमा नाघेपछि ।’ हो, ०७२ को जारी संविधान त्यही अराजकता बढाउनका लागि बलात् लादिएको थियो । हाम्रो मुलुकमा ०५१ को मध्यावधिउतासम्म क्षेत्रीय, जातीय, धार्मिक द्वन्द्वको कुनै नामोनिशान थिएन । ०७ सालको परिवर्तनयताको सम्पूर्ण कालखण्डमा साम्प्रदायिक दङ्गाको कुनै इतिहास छैन । विसं २०२७ सालतिर राजा महेन्द्रले नेपालबाट भारतीय सैनिक क्याम्प हटाउने क्रममा भारतको विहारबाट प्रतिक्रियास्वरुप रौतहटमा एउटा घातक खालकै हिन्दु–मुस्लिम दंङ्गा भड्केको थियो । तर दङ्गा भएको एक महिना पनि नबित्दै त्यो विहारी षड्यन्त्र पर्दाफास भएपछि सारा हिन्दु–मुस्लिम परिवार अँगालोमा आएर पुरानै भाइचारा सौहार्दता कायम भएको थियो । दुर्भाग्य ०७२को संविधानमा विधिवत्रुपमै क्षेत्रीय द्वन्द्व (७ प्रदेश), जातीय द्वन्द्व (जातजातिका भागवण्डा) र धार्मिक द्वन्द्व (धर्म निरपेक्षता) जबरजस्ती लादियो । यो द्वन्द्व नै ‘अराजकता’ बीजारोपण थियो र त्यसैको परिणाम नै आज आम जनता मतदाताको हक पक्षमा राज्यसत्ता छैन । विदेशी स्वार्थ, अन्तर्राष्ट्रिय माफिया, घुस्याह, भ्रष्टाचारी, कालोबजारिया, बिचौलिया र एक पश्चिमा (अमेरिका–युरोप) रिपोर्टअनुसार ११ हजार टोले गुण्डाहरु (रिगल–अफ्ताव आदि/इत्यादि)ले नेपालको राज्यसत्तालाई पूर्णरुपमा ‘क्याप्चर’ गरेका छन् । आम नेपालीको ढाड सेक्न कर र महँगी बढाउनुबाहेक गणतन्त्र सरकारले सिन्को पनि भाँचेको छैन र भाँच्नेवाला पनि छैन ।
‘अराजकता’को एउटा प्रतीक उदाहरण पाठ्यक्रम अभिलेख गरेर प्रस्तुत आलेखको प्रतिपाद्य विषय ‘राजनीतिक जागरणका चारै ढोका खुला’ शीर्षकमा आउँछु ।
घटना भर्खरै खुलासा भएर सामाजिक सञ्जालमा हप्तौँ भाइरल भएको आम नवजागरण सबैलाई थाहा भइसकेको छ । प्रतीकका रुपमा उदाहरण लिएको हुनाले यहाँ नाम र ठाउँको उल्लेख गर्दिनँ । एक २४ वर्षका युवक विवाह भएको एक वर्ष पनि पूरा भएको थिएन । आफ्नै दाजुको सुतिरहेका बखत हथौडाले टाउको फुटाएर खुकुरीले शरीरको टुक्रा–टुक्रा पारेर बोरामा पोको पारेर नजिकैको खोल्सामा पुरपार गरेर दाजु हराएको भन्दै आफैँ प्रहरीकहाँ पुगे । प्रहरीले छड्के अनुसन्धान गर्दा हत्यारा उनै भएको साबित भयो । अदालतबाट ज्यान सजायमा जेल पुगे । लोग्ने हत्यारा साबित भएर जेल पुगेपछि श्रीमतीले डिभोर्स गरिन् र अर्कैसँग विवाह गरिन् । यस ५/७ वर्षको अवधिमा दुईटी छोरी पनि जन्मिएर श्रीमान् विदेशमा कामदार थिए । यस्तैमा संविधान दिवसका दिन राष्ट्रपतिबाट बाँकी कैद माफी हुन्छ । जेलबाट छुटेपछि पहिलो काम दाजुलाई जस्तै पूर्वपत्नी र तिनका दुई बालिकाको हत्या गरेर अहिले फेरि जेलमै छन् । तर जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर जेल पुगेका अफ्ताव आलमलाई जेलबाट छुटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक बचन (प्रतिज्ञा) गरेका जस्तै अब यी ज्यानमारालाई जेलबाट छुटाउन कुन पार्टीका सभापति अध्यक्षले सार्वजनिक या गोप्य प्रतिज्ञा गर्ने हुन्, कुनै ठेगान छैन । यस्तै अवस्था हालतलाई भनिन्छ ‘अराजकताको पराकाष्ठा’ ।
हरेक कालो बादलमा चाँदीको घेरा भएजस्तै माथि आएका अराजकताका एक–दुई प्रतीक उदाहरण (शिशुपालका सय पाप नाघीसक्यो)ले आगामी दिनका राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको संकेत प्रस्ट हुन्छ । यस संकेत प्रस्टताको ठोस प्रमाण जमिन र जरा आम नेपाली मतदातामा विकसित भएको निम्न उल्लिखित नयाँ राजनीतिक जागरणका ‘चारैढोका’ खुल्नु नै हो ।
राजनीतिक जागरणका ‘चारैढोका खुला’ आफ्नो अध्ययन अनुसन्धान ठहरमा ‘चारढोका’को प्रतीक उदाहरणचाहिँ पशुपतिनाथका ‘चारढोका’बाट लिएको हुँ । पशुपतिनाथका चारैढोका नखुल्दा सम्पूर्ण दर्शन (अमिष्ठ) उपलब्ध हुन्न भन्ने ‘चारवेद’का शाखामध्ये ‘नेपाल महात्म्य’मा वर्णन आउँछ ।
आम नेपालीजनका राजनीतिक जागरण चार बन्द ढोका कुन–कुन थिए र ती क्रमशः कसरी खुल्दै गए भन्ने ऐतिहासिक तथ्य अघि सार्नुअघि विसं २००८ सालदेखि ०२७ सालसम्म लगातार १९ वर्ष नेपालको सार्वभौमिकता स्वाभिमान पूर्णरुपमा ‘भारतको मुठ्ठीको माखो’ बनेको इतिहास पाठ्यक्रममा छुटाउन मिल्दैन । जसको थोरै संकेत (रौतहटको हिन्दु–मुस्लीम दङ्गा)माथि पनि एक ठाउँमा आइसकेको छ । २००८ सालदेखि ०२७ सालसम्म नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिक क्याम्प खडा भएर चीनतिर बन्दुक तेस्र्याएर परेड खेलिन्थ्यो । भारतको यस सैनिक परेडलाई चीनका माओत्सेतुङले राजा महेन्द्रलाई ‘भातरको प्रदेश प्रमुख’ सम्बोधन गरेपछि छाँगाबाट खसेर माओत्सेतुङकै साथ लिएर ०२७ सालमा ती क्याम्प उखेलिए । त्यसैले ०७ सालको ‘प्रजातन्त्र दिवस’लाई ‘भारततन्त्र दिवस’ भन्दै आएको हुँ र ०२७ सालमा आइपुगेर मात्र सार्वभौम हुन पाएका हौँ । यसको पुष्टि र प्रमाणित पाठ्यक्रम त्यसबखत त्रिभूवन (राजा)ले ‘राणाको जेलबाट नहरुको जेलमा आइपुगेको’ भनेका छन् भने बीपी कोइराला (जननायक)ले ‘सन् ५०को सन्धि हुँदा हामीलाई थाहै दिइएन’ भनेका छन् । यति कुरा यहाँ किन ल्याइएको भने चार बन्द ढोका क्रमशः खुल्दै गएका यस पाठ्यक्रमको अवधि (समय) ०२७ सालयताको हो ।
(१) पहिलो ढोका : २०४६ सालसम्म आम नेपाली जनता राजा संविधानभित्र बस्न तयार हुने मान्न कुनै पनि हालतमा तयार थिएनन् । ०४६ सालको भारत समर्थित आन्दोलनले राजनीतिक जागरणको त्यो बन्द ढोका खोलिदियो । राजा संविधानभित्र बस्न तयार भएका आमजनले देख्न र भोग्न पाए ।
(२) दोस्रो ढोका : नेपाली जनता यो मान्न कुनै पनि हालतमा तयार थिएनन् कि कम्युनिस्टहरु पनि एक दिन नेपालको राज्यसत्तामा पुग्छन् । स्वयम् कम्युनिस्टहरु पनि यो मान्न तयार थिएनन् र राजा महेन्द्रको रिक्रुट भएका थिए । जनमतसंग्रहमा निर्दलका पक्षमा परिचालित भएका थिए । गिरिजाको मध्यावधिले त्यो बन्द ढोका खुल्यो र कम्युनिस्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री भए ।
(३) तेस्रो ढोका : नेपाली जनताले एक दिन नेपालमा पनि गणतन्त्र आउने कल्पना गरेका थिएनन् । यो पनि एकप्रकारले राजनीतिक जागरणको बन्द ढोका नै थियो । संसदवादी माओवादी १२ बुँदे दिल्ली सम्झौताबाट प्रायोजित कथित ०६३ को आन्दोलनले यो बन्द ढोका पनि खुल्यो । कसरी खुल्यो ? त्यसको ऐतिहासिक तथ्य विवरणमा जान मोटै पुस्तकको आवश्यकता हुन्छ । यहाँ यति भनौँ नेपालीजनले गणतन्त्र पनि देख्न भोग्न पाए ।
(४) चौथो ढोका : राजनीतिक जागरणका तीन तीनवटा उल्लिखित महत्वपूर्ण बन्द ढोका खुलिसक्दा पनि मुलुकलाई अराजकताको वर्तमान रसातलमा पु¥याउने कांग्रेस, एमाले, माओवादी, राप्रपा आदि÷इत्यादि दलहरु नै चुनाव जितेर सत्तामा पुग्ने किन भइरहेको छ ? यो प्रश्नको उत्तर खोज्ने क्रममा नै आम मतदाता जागरणको बन्द ढोका थाहा लागेको हो । त्यो बन्द ढोका भनेको एउटाले अर्को (कांग्रेस, एमाले, माओवादी, राप्रपा आदि/इत्यादि)लाई दोषी देखाउँदै आम मतदातालाई भ्रमित तुल्याएर उल्लु बनाउने गरेका रहेछन् । तर जब प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको लुटतन्त्र मनपरीतन्त्र (देश लिलामीमा सरकार दलालीमा)ले सीमा नाघेर अपराध धुरीबाट कराउन थालेपछि कांग्रेसले ‘हसिया हथौडा’ (माओवादीको चुनाव चिह्न), माओवादीले ‘रुख’ (कांग्रेसको चुनाव चिह्न), एमालेले ‘हलो’ (राप्रपाको चुनाव चिह्न) र राप्रपाले ‘सूर्य’ (एमालेको चुनाव चिह्न)मा भोट माग्न जाले त बल्ल चौथो बन्दा ढोका पनि खुल्यो ।
यसै ऐतिहासिक तथ्यलाई पशुपतिनाथका चारै ढोका खुल्दा पूर्ण दर्शन उपलब्ध हुने दृष्टान्त (उदाहरण)बाट अब भने आम राजनीतिक जागरणले सामयिक पूर्णता पाएको पाठ्यक्रम अघि सारेको हुँ । यसमा मलाई आश्चर्य, हैरानी र दिग्दारी लागेको विषयचाहिँ के हो भने राजा ज्ञानेन्द्र, दुर्गा प्रसाई, जगमान गुरुङदेखि भरत दाहाल, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठसम्म आदि/इत्यादि जति पनि राष्ट्र जोगाउने जनता बचाउने कित्ता (पृथ्वीपथ)का नेता, अभियन्ता, अनुयायी, बौद्धिकहरु, पत्रकारहरु हुनुहुन्छ उहाँहरुमा यो पाठ्यक्रम किन शिक्षण÷प्रशिक्षण भइरहेको छैन । अस्तु । चेतना भया ।