काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
बेलायतस्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको ‘नेपाल–युके टेक फोरम’ मा उनले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औँल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेकलगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यका लागि आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपालको लगानी वातावरणमा भइरहेको रूपान्तरण र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकूल समय भएको बताए । यस्तै, उनले लगानीकर्तालाई सहजीकरण गर्न महासंघले ‘एफडीआई सपोर्ट डेस्क’ स्थापना गरेको जानकारी दिए ।
नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवर्द्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा उनले जोड दिए । अध्यक्ष ढकालले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट (एलडीसी) स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा डिजिटल व्यापार र सेवा क्षेत्रलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाइनुपर्ने बताए ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती कम्पनीहरूलाई नेपालको आईटी सेवा आउटसोर्स गर्न र नेपालमा लगानी गर्न आग्रह गरे । नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिस लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए । उनले आईटी र नवीकरणीय ऊर्जामा लगानीका लागि आधार तयार भएको बताउँदै नेपाल र युकेबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
ब्रिटिस संसद्मा ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’की अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल तथा युकेबीच सीधा हवाई सेवा सुरू गर्न आवश्यक रहेको बताइन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकारले सूचना प्रविधिमा शतप्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको बताए । साथै, उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड तयार रहेको पनि उल्लेख गरे । डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको बताए । नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई परिचालन गरी विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने उनको भनाइ थियो ।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी कम्पनी, जेनेस सलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै नेपालमा लागत कम र गुणस्तर उच्च रहेको एक दुर्लभ संयोजन उपलब्ध रहेको बताए । नेपालका सूचना प्रविधिसम्बन्धी कम्पनीहरूको प्रतिनिधि संस्था, नास आईटीका अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब नब्बे हजार युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको र वार्षिक करिब ८० करोड अमेरिकी डलर बराबरको आम्दानी यस क्षेत्रबाट भइरहेको बताए । ‘हाम्रो कुल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ । अबको चार÷पाँच वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौँ’, उनले भने ।
कार्यक्रममा आईएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ नीलेशमान सिंह प्रधान, जेनेस सलुसनका ग्लोबल सीटीओ निरञ्जन कुँवर, बेलायतमा कार्यरत युवा उद्यमी रुवि राउत, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाललगायतले नेपाल तथा युकेबीच व्यापार तथा लगानी बढाउन थुप्रै सम्भावना रहेको बताएका थिए । बेलायतस्थित प्राविधिक क्षेत्रका विज्ञ, लगानीकर्ता र कूटनीतिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा नेपाल–बेलायतबीच डिजिटल व्यापार र प्रविधि साझेदारीलाई कसरी थप गहिरो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।