काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरू सम्पन्न गरेको छ । बैंकका अनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप बैंकले आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरू सम्पन्न गरेको हो ।
सोहीअन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्वारा बाजुरास्थित श्री लक्ष्मी माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाइमा अब्बल रहेका विद्यार्थीहरूलाई ‘स्कुल ब्याग’ वितरण गरेको छ । साथै पाटन नगरपालिका–०१ मेल्चौरा बैतडीस्थित श्री सिद्धेश्वर माध्यामिक विद्यालयलाई पाटन–बैतडी शाखाबाट शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ । आठ सय विद्यार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्यालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरूबाट बच्न सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।
त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । साथै काठमाडौं जिल्ला बूढानीलकण्ठ नपा वडा नं. ४ क्वाँटोल, चण्डेश्वरीस्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीका लागि राउन्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२को लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । साथै यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुनसक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।
त्यसैगरी प्रहरी वृत्त मालीगाउँ काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थलगतरूपमा खटिने प्रहरीलाई सहज होस् भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरेको छ । साथै रोटरी क्लब अफ वीरगंजको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा श्री नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।