काठमाडौं । एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकका अनुसार विश्वका विभिन्न देशबाट नेपालमा आएका अली–पे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपाल–पे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्नसक्ने गरी उक्त सम्झौता भएको हो ।
यो सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अली–पे प्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपाल–पे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्नसक्ने सुविधा उपलब्ध भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । अलि–पे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनीलगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आबद्ध छन् ।
यो सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरूले अलि–पे प्लस नेटवर्कमा जोडिएका मुलुकका पर्यटकहरूले नेपाल–पे क्यूआरमार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् । बैंक र एनसीएचएलबीच भएको यो सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरूका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ ।