काठमाडौं । राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरेको छ । ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा ल्याइएको यो अभियान साउन १५ गतेसम्म सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत पठाइएका कुनै सामान पठाओ पार्सलले तोकिएको समयमा ग्राहकसम्म पुर्याउन नसकेर अर्डर रद्द भएमा, मर्चेन्टले सामानको मूल्य बराबरको पैसा र सामान दुवै फिर्ता पाउनेछन् । तर, पठाओले समयमै डेलिभरी गर्न खोज्दा ग्राहक सम्पर्कमा नआउने, फोन नउठाउने वा अर्डर रिसिभ गर्न अस्वीकार गर्ने अवस्थामा यो सुविधा लागू हुनेछैन । बाढी, पहिरो, यातायात अवरुद्ध, हड्तालजस्ता बाह्य कारणहरूका कारण ढुवानीमा ढिलाइ भएमा पनि यो ग्यारेन्टी लागू नहुने कम्पनीले स्पष्ट पारेको छ । यस अफरले केवल पठाओको गल्तीका कारण डेलिभरी समयमै हुन नसकेको खण्डमा मात्र मर्चेन्टलाई सुरक्षा प्रदान गर्नेछ ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले कम्पनीको सेवालाई अझ जिम्मेवार र भरपर्दो बनाउन ‘डेलिभरीको ग्यारेन्टी’जस्ता योजना ल्याएको बताइन् । यस योजनामार्फत व्यवसायी र ग्राहक दुवैको कारोबारलाई सहज, सुरक्षित र भरोसायोग्य बनाउने उनको दाबी छ । यस सेवाले अब व्यवसायीहरूले आफ्नो सामान समयमा पुग्ला कि नपुग्ला भन्ने चिन्ताबाट मुक्त हुनेछन् । साथै, नयाँ मर्चेन्टहरूलाई लक्षित गर्दै कम्पनीले विशेष अफर ल्याएको छ । अभियान अवधिभर नयाँ दर्ता हुने मर्चेन्टहरूले पहिलो एक हप्ताभित्र पठाएका एक सय अर्डरसम्म निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । पठाओ नेपालले हाल नेपालभर आधुनिक र भरोसायोग्य डेलिभरी सञ्जाल विस्तार गरिरहेको छ । यस अभियानले पठाओलाई अझ बढी ग्राहक केन्द्रित र व्यवसायमैत्री डेलिभरी प्लेटफर्मको रूपमा स्थापित गर्नेछ ।