काठमाडौं । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बेलायती लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर युकेसँगको संयुक्त सहकार्यमा भएको नेपाल–युके लगानीसम्बन्धी छलफलमा उनले जलविद्युत्, विमानस्थल आधुनिकीकरण तथा आतिथ्य क्षेत्र (हस्पिटालिटी) मा लगानी भित्र्याउने प्रक्रियामा रहेको जनाउँदै बेलायती लगानीकर्ताहरूलाई नेपालका असीमित सम्भावनाहरू उपयोग गर्न आग्रह गरे ।
नेपालका ऊर्जा, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा लगानीको अपार सम्भावना रहेको उनको भनाइ छ । नेपालले लगानीमैत्री वातावरण सुधार गरिसकेको बताउँदै उनले अहिलेको समयमा विदेशी लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे । ज्ञवालीले नेपालले प्रक्रियाहरू सरल बनाइसकेको तथा विभिन्न आकर्षक प्रोत्साहनहरू पनि प्रदान गरिरहेको जानकारी दिए ।
छलफलमा बारोनेस बर्माले नेपाल दुई ठूला मुलुक भारत र चीनको बीचमा रणनीतिकरूपमा अवस्थित भएकाले लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गरिन् । उनले बेलायती व्यवसायहरूले पनि नेपाललाई महत्वपूर्ण लगानी गन्तव्यको रूपमा लिनुपर्ने आवश्यकता औँल्याइन् । त्यसैगरी बेलायतस्थित उद्यमीहरूले लगानीमैत्री सुधारहरूलाई प्रशंसा गरे पनि कार्यान्वयनमा देखिने चुनौतीहरूका बारेमा भने चिन्ता व्यक्त गरेका छन् । लन्डनमा आधारित प्रविधि उद्यमी जर्ज चाकोले नेपालका नीतिहरू आशाजनक भए पनि कार्यान्वयनको पाटो फितलो रहेको उल्लेख गरे ।
बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले गम्भीर लगानीकर्ताहरूलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास तयार रहेको बताए । बैठकमा बेलायत–नेपाल सहकार्यका सफल उदाहरणहरू पनि प्रस्तुत गरिएको थियो, जसमा फेसन डिजाइनर संयुक्त श्रेष्ठले आफ्नो अनुभव सुनाएकी थिइन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल र लगानी प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल तथा बेलायत सरकारका उच्च तहका अधिकारीहरू तथा वरिष्ठ व्यवसायीहरूको सहभागिता थियो ।