कोलम्बो । श्रीलंकाको निर्यात वस्तुहरूमा संयुक्त राज्य अमेरिकाले पुनः ४४ प्रतिशत आयात कर लगाउने सम्भावना बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले दिएको छ ।
श्रीलंकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा साढे एक प्रतिशतसम्म गिरावट आउन सक्ने आईएमएफ प्रतिवेदनले देखाएको छ ।
हाल श्रीलंकाबाट अमेरिका निर्यात हुने वस्तुहरूमा १० प्रतिशत कर मात्र लाग्दै आएको छ, तर यो छुट (जुलाई ९)मा समाप्त हुने भएकाले त्यसपछि फेरि ४४ प्रतिशत कर लाग्न सक्ने अनुमान गरिएको छ ।
आईएमएफले श्रीलंकाको कपडा उद्योगमा धेरै मुनाफा नहुने जनाएको छ, त्यसैले यति धेरै कर थपिएमा उद्योगहरू टिक्न गाह्रो हुन्छ । यसले निर्यात घटाउने र देशको आम्दानीमा असर पार्नेछ । यद्यपि, निर्यात घटे पनि कच्चापदार्थ कम आयात गर्नुपर्ने, अन्तर्राष्ट्रिय बजारमा सामान सस्तो हुनु र रूपैयाँको अवमूल्यनले केही असर कम गर्नसक्ने आईएमएफले बताएको छ ।
आईएमएफले यस्तो परिस्थितिले लगानी घटाउन सक्ने, बेरोजगारी बढ्न सक्ने र सरकारले सुधार कार्यक्रम अघि बढाउन कठिनाइ भोग्न सक्ने चेतावनी दिएको छ । प्रतिवेदनमा बाह्य मागमा कमी र व्यापारमा देखिएको अस्थिरताका कारण कुल गार्हस्थ्य उत्पादनको तीन प्रतिशत बिन्दुले निर्यात घट्नसक्ने उल्लेख छ । आईएमएफले आयातित सामग्रीको न्यून आवश्यकता, विश्वव्यापी वस्तुको मूल्यमा आएको कमी र विनिमय दरको अवमूल्यनका कारण निर्यातमा आएको कमीलाई आंशिकरुपमा पूर्ति गर्ने बताएको छ ।
श्रीलंकाको प्रतिस्पर्धात्मक क्षमतामा आएको कमी र बढ्दो अनिश्चितताले व्यावसायिक लगानीलाई निरुत्साहित गर्ने र कुल गार्हस्थ्य उत्पादनमा नोक्सानी हुने आईएमएफले जनाएको छ । आईएमएफले बेरोजगारी बढ्ने चेतावनी पनि दिएको छ भने सहयोग प्रदान गर्न सरकारमाथि सार्वजनिक दबाबले सुधार कार्यान्वयनलाई सुस्त बनाउन सक्छ र कार्यक्रमको कमजोर प्रदर्शनको जोखिम बढाउन सक्छ ।