चितवन । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आइतबार भरतपुर अस्पतालमा चिकित्सकसँग निजी अस्पताल सञ्चालक, नर्सलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाले ऐक्यबद्धता जनाउँदै धर्ना दिएका छन् ।
धर्ना कार्यक्रममा नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारी, सङ्घका उपाध्यक्ष एवं भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. दिपेन्द्र न्यौपाने, निजी अस्पताल समन्वय समिति (अफिन) चितवनका अध्यक्ष विक्रम अधिकारी, नेपाल नर्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरे लगायतले बोलेका थिए ।
भरतपुर अस्पतालमा जम्मा भएर चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले एक घण्टा धर्ना दिएका थिए । उनीहरुले चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने भन्दै माग पूरा नहुञ्जले आन्दोलन जारी रहने बताए ।
कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत निजी र सरकारी अस्पतालका चिकित्सकहरु सहभागी थिए ।