काठमाडौं, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विनिल अर्याल नियुक्त हुने सम्भावना बढेको छ । स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
आइतबार टुङ्गो लागेको नाम सोमबार नै औपचारिकरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने छ । त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्ति गर्नेछ । त्रिविका उपकुलपति केशरजंग बरालले गत चैत १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ । १२ जनाबाट छनौट गरेर पाँच जनामा सीमित गरेपछि पाँचमध्ये पनि तीन जनाको नाम छनोट गरेर नियुक्तिका लागि अर्यालसहित तीन जनाको नाम पठाइएको स्रोतको दाबी छ ।
त्रिविको उपकुलपतिका लागि अर्यालका अतिरिक्त प्रा.डा. खड्ग केसी, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ्ग, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेती तीव्र प्रतिस्पर्धामा छन् । तर अर्याल र कोइरालामध्ये को उपकुलपति बन्ने भन्ने विषयमा संघर्षजस्तै छ । तर, अर्यालको सम्भावना रहेको स्रोतको दाबी छ ।