काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८१ सालको एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहमा वरिष्ठ इन्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने बताए ।
विद्यार्थीहरूलाई भविष्यमा उचित विषय छनौट गरी अध्ययन गर्न परामर्श दिँदै पुडासैनीले शैक्षिक क्षेत्रको विकासबाट मात्र मुलुकको समृद्धि सम्भव भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाए । अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ मा अध्ययन गर्नका निम्ति उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो रहन सुझाव दिए ।
अरुणिमा मावि बौद्धका एक सय १६ जना, नवअरुणिमा मावि आरुबारीका ३७ जना र अरुणिमा शिक्षा सदन मावि महाङ्कालका ३६ जना विद्यार्थीहरू गरी जम्मा एक सय ८९ जना विद्यार्थीहरू समारोहमा अभिनन्दित भएका थिए । उच्चतम जीपीए प्राप्त गर्ने विद्यार्थीहरू युनिशा चौलागाईं, स्मृति तिमिल्सिना (अरुणिमा मावि,बौद्ध), सभ्यता श्रेष्ठ (नव अरुणिमा मावि आरुबारी) र प्रतिष्ठा कोइराला (अरुणिमा शिक्षा सदन मावि,महाङ्काल) लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन गरिएको थियो ।