वासिङ्टन । अमेरिकी अर्बपति व्यवसायी एलोन मस्कले शनिबार अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले यसलाई ‘अमेरिका पार्टी’ नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् ।
सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठूला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग (डीओजीई)को प्रमुखका रूपमा खर्च कटौती र संघीय जागिरहरू घटाउने ट्रम्पको प्रयासको नेतृत्व गरेपछि राष्ट्रपतिसँग तीतो मतभेद भएको थियो ।
मस्कले राष्ट्रपतिको विशाल घरेलु खर्च योजनालाई लिएर ट्रम्पसँग झगडा गरेका थिए । यसले अमेरिकी ऋण विस्फोट गराउनेछ भन्दै उनले यसका लागि मतदान गर्ने सांसदहरूलाई पराजित गर्न आफ्नो सबै शक्तिमा प्रयोग गर्ने बाचा गरेका छन् । ‘हाम्रो देशलाई बर्बादी र भ्रष्टाचारले दिवालिया बनाउने कुरामा हामी एक–दलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन’, स्पेस एक्स र टेस्लाका मालिकले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेका छन्, ‘आज, अमेरिका पार्टी तपाईँलाई तपाईँको स्वतन्त्रता फिर्ता दिन गठन गरिएको छ ।’
मस्कले शुक्रबार, अमेरिकी स्वतन्त्रता दिवसमा एउटा सर्वेक्षण गरेका थिए । उक्त सर्वेक्षणमा उनले उत्तरदाताहरूलाई ‘लगभग दुई शताब्दीदेखि अमेरिकी राजनीतिमा प्रभुत्व जमाएको दुई–पार्टी प्रणालीबाट स्वतन्त्रता चाहन्छन् कि’ भनेर सोधेका थिए । यस सर्वेक्षणले १२ लाखभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको थियो । जसमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनेमा मत दिएका थिए ।