काठमाडौं ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार महामन्त्री विश्वप्रकाश शर्माको टिप्पणीपछि एकाएक आक्रोशित बने। चितवनमा पार्टीबाट अवकाश लिने अभिव्यक्तिको प्रशंसा गर्दै महामन्त्री शर्माले देउवालाई पुनः प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव दिएका थिए। तर, शर्माको उक्त प्रस्तावपछि देउवाले तीव्र प्रतिक्रिया जनाउँदै भने, "म के गर्छु, त्यो मेरो कुरा हो। मैले कसैलाई भनेर गर्ने होइन। म अप्ठेरो मान्छे हुँ नि, विचार गर्नुस्!" महामन्त्री शर्माले देउवालाई सम्मानजनक बहिर्गमनको बाटो रोज्न आग्रह गर्दै भनेका थिए, "अब ०८३ सालमा छैटौँपटक प्रधानमन्त्री बन्ने दौडमा नलागेर अरु साथीलाई मार्गप्रशस्त गर्नुपर्छ। त्यसले नेपालको राजनीतिमा सकारात्मक प्रभाव पार्नेछ।" तर देउवाले स्पष्ट शब्दमा आफू अरुको भनाइमा निर्णय नगर्ने संकेत दिँदै चेतावनी दिएका हुन्। कांग्रेसभित्र नेतृत्वको प्रतिस्पर्धा झनै चर्किने संकेत यस घटनाले दिएको छ।